दाङ, २७ असोज । नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्यसमितिको आयोजनामा १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दाङ क्षेत्र नं. ३ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरूले पार्टीभित्रको एकता, आपसी सहकार्य, सांगठनिक सुदृढीकरण र जनतामाझ कांग्रेसको विश्वास अभिवृद्धिमा विशेष जोड दिएका थिए ।
नवनिर्वाचित नेतृत्वले प्राप्त जिम्मेवारीलाई अवसर र चुनौतीका रूपमा लिँदै पार्टीलाई जनमुखी तथा क्रियाशील बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रमको पहिलो चरणको अध्यक्षता निवर्तमान नगर सभापति सुरेश हमालले गर्नुभएको थियो । सोही चरणमा १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नगर सभापति वीरेन्द्र शाहसहितका पदाधिकारी तथा सदस्यहरूले पद ग्रहण गर्नुभयो । पद ग्रहणपछि दोस्रो चरणको कार्यक्रम नवनिर्वाचित सभापति शाहको अध्यक्षतामा सञ्चालन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले महाधिवेशनका सहभागी सम्पूर्ण नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गर्नुभयो ।
यस्तै नवनिर्वाचित नगर सभापति वीरेन्द्र शाहले लामो समयको सांगठनिक संघर्ष र योगदानपछि आफू सर्वसम्मत रूपमा सभापति चयन भएको बताउनुभयो । आफूले सधैँ पार्टी र अरूका लागि समर्पित भएर काम गरेको स्मरण गर्दै उहाँले जिम्मेवारी सम्हालेपछि भएका केही नकारात्मक टीकाटिप्पणीप्रति दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासमिति सदस्यहरू सुरेश हमाल, सुष्मा गिरी, देवा डाँगी, जितबहादुर केसी र मोहन स्वर्णकारले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले पार्टीभित्र आपसी सद्भाव र एकताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, क्षेत्र नं. ३ का सभापति खिमबहादुर वली, महाधिवेशन प्रतिनिधिहरू नवीन योगी, जोगेन्द्र विश्वकर्मा, शान्ता पाण्डे, जनक खराल, टेकन बस्नेत, हिमाल, क्षेत्र नं. ३(२) का सभापति शम्भु गिरी, क्षेत्र नं. ३ (१) का सभापति तेजबहादुर डाँगी र बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीलगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले अग्रजको अनुभव र युवा पुस्ताको सक्रियतालाई समेटेर संगठन विस्तार, कार्यकर्ताको उचित मूल्यांकन र जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव कृष्ण डाँगीले गर्नुभएको हो ।


