२०८३ मङ्सिर ५ गते शनिवार

मानवसेवा आश्रम तुलसीपुरको पाँचौँ वार्षिकोत्सव : पाँच वर्षमा ३५० बढीको उद्धार

तुलसीपुर, ५ मंसिर। मानवसेवा आश्रम दाङ शाखा तुलसीपुरको पाँचौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले मानवसेवा आश्रम बेसहारा, असहाय तथा सडक मानवहरूका लागि आश्रय, संरक्षण र मायाको केन्द्र बनेको बताएका छन्।

मानवसेवा आश्रम तुलसीपुरका संरक्षक तथा अभिभावक एवं प्रतिष्ठित व्यवसायी डिल्ली बहादुर बस्नेतले आश्रम केवल एउटा घर मात्र नभई बेसहारा व्यक्तिहरूका लागि मन्दिर बनेको बताउनुभयो। उहाँले आश्रमले मानवीय सेवामार्फत जीवनमा आशा र खुसी फर्काउने काम गरिरहेको उल्लेख गर्दै यस्तो अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले पनि मानवसेवा आश्रमले समाजमा मानवीय संवेदना र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले बेसहारा तथा असहाय व्यक्तिहरूको संरक्षण र व्यवस्थापनमा आश्रमले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।

कार्यक्रममा आश्रमको पाँच वर्षको सेवा यात्राबारे जानकारी दिँदै ३५० जनाभन्दा बढी बेसहारा तथा असहाय व्यक्तिहरूको उद्धार गरिएको र हाल ७० जना आश्रितहरू आश्रममा रहेको जानकारी गराइएको थियो।

पाँच वर्षको यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी मन, संघसंस्था तथा सेवाभावी व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवसेवाको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रम तुलसीपुरका सूचना अधिकारी हिरु जोशीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस