सल्यान, २ मंसिर । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने उद्देश्यले सल्यानको कपुरकोटमा एकदिने सचेतनामूलक कार्यशाला तथा अभियान कार्यक्रम गरिएको छ।
सामाजिक सुरक्षा कोष नेपालगञ्ज, बाँके र कपुरकोट गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षता तथा पूर्वमन्त्री एवं संविधानसभा सदस्य टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षाका लागि सामाजिक सुरक्षा कोषको महत्वबारे चर्चा गर्नुभएको थियो।
गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव दीपक चनारा र केन्द्रीय सदस्य हरिलाल बिसीले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका सहायक निर्देशक विष्णु रोकाले कोषमा आबद्ध हुने प्रक्रिया, श्रमिकले प्राप्त गर्ने सुविधा तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।
कार्यशालामा बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी संस्था र गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले निर्माण क्षेत्रलगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषको महत्व, आबद्धता र त्यसबाट प्राप्त हुने सुविधाबारे जानकारी गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


