दाङ । अप्टिमिस्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा मेघराज पोख्रेल निर्वाचित हुनुभएको छ । शनिबार तुलसीपुरमा सम्पन्न क्लबको पाँचौँ अधिवेशनबाट पोख्रेल नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा केशकुमार खड्का र योगमाया योगी (स्मृति), महासचिवमा निर्मला डिसी, कोषाध्यक्षमा नोखिराम वली (सन्दिप), पालियामेन्टेरियन (कानुनी सल्लाहकार) मा कुलानन्द अधिकारी, सचिवमा विष्णु कमल न्यौपाने र जनसम्पर्क अधिकारीमा दीपक बोहरा चयन हुनुभएको छ ।
त्यसैगरी डाइरेक्टरमा निशान खड्का, विनोद बस्नेत र डिला पाण्डे चयन हुनुभएको छ । क्लबको प्रमुख सल्लाहकारमा विष्णुप्रसाद देवकोटा तथा सल्लाहकारमा मेघराज घिमिरे, झरेन्द्र खरेल, सूर्यप्रकाश शर्मा, गिरीराज डाँगी, नवराज भण्डारी र विष्णु योगी मनोनित हुनुभएको निर्वाचन संयोजक तथा पूर्वअध्यक्ष एकराज भण्डारीले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिलाई शनिबार नै पदहस्तान्तरण गरिएको छ । क्लबका सन् २०२५–०२६ का अध्यक्ष नोबेल डिसीको अध्यक्षता तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख धनबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वलीले समाजको सकारात्मक रूपान्तरणका लागि सामाजिक संघसंस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस्ता संस्थाले समाजमा सकारात्मक सोच, सहकार्य र सेवाभावको विकासमा योगदान पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि तथा व्यवसायी सुरेश हमाल र विमल रिजाल तथा खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कोषाध्यक्ष मुक्ति प्रसाद भट्टराईले सामाजिक संस्थाहरू समाजका आवश्यकता र समस्यासँग जोडिनुपर्ने बताउनुभयो । उहाँहरूले सामूहिक प्रयास, सकारात्मक सोच र रचनात्मक गतिविधिमार्फत समाजमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काले ‘सकारात्मक सोच र सकारात्मक जीवनशैली’ विषयमा उत्प्रेरणात्मक प्रशिक्षण दिनुभएको थियो । उहाँले सकारात्मक सोचलाई जीवनको अदृश्य वाइफाईको संज्ञा दिँदै सोच र व्यवहारमा सकारात्मकता अपनाउन सके व्यक्ति, परिवार र समाज सबैमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
यसैगरी वरिष्ठ पत्रकार तथा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति सुशील बस्नेतले ‘रचनात्मक पत्रकारिता’ विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले पत्रकारिता केवल सूचना सम्प्रेषणमा सीमित नभई समाजका समस्या उजागर गर्ने, समाधानका सम्भावना खोज्ने र सकारात्मक परिवर्तनका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने माध्यम हुनुपर्नेमा जोड दिनुभयो ।
क्लबले सामाजिक विकाससँगै व्यक्तित्व विकास, सकारात्मक सोच र रचनात्मक अभ्यासलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा करिब १६० जनाको सहभागिता रहेको थियो । कार्यक्रमले नयाँ नेतृत्व चयनसँगै सामाजिक उत्तरदायित्व, सकारात्मक जीवनशैली र रचनात्मक पत्रकारिताको महत्वलाई समेत उजागर गरेको छ ।



