दाङ,६ मंसिर । तुलसीपुर वडा नं. १३ को आयोजनामा हुन लागेको चौंथो संस्करणको वडा अध्यक्ष कप प्रतियोगिता भोलीदेखि सुरु हुने भएको छ।
स्थानीयस्तरमा खेलकुदको विकास,खेल प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
नौखानमा रहेको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्षमा विवेक श्रेष्ठले गर्नुहुनेछ। वडाध्यक्ष मोहनलाल पौडेलका अनुसार प्रतियोगितामा फुटबल,भलिबल,महिला रस्साकस्सी(डोरी तानातान) र महिला ४००मिटर दौड गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा फुटबलतर्फ प्रथम हुने समूहले नगद ३० हजार र द्वितीय हुने समूहले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी भलिबलतर्फ प्रथम हुनेले ७ हजार र द्वितीय हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।
महिला रस्साकस्सी प्रतियोगितामा विजेता समूहलाई ५ हजार रुपैयाँ तथा महिला ४०० मिटर दौडमा प्रथम हुने खेलाडीलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
विजेता खेलाडी तथा टोलीलाई प्रमाणपत्र र कपसमेत प्रदान गरिनेछ। प्रतियोगिता मङ्सिर ११गतेसम्म सञ्चालन हुनेछ ।



