२०८३ मङ्सिर ५ गते शनिवार

विस्तृत शान्ति सम्झौताको दुई दशक बित्दा पनि संक्रमणकालीन न्याय अधुरै, पीडितले गरे न्यायको माग

तुलसीपुर, ५ मंसिर । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भएको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन पुनः आग्रह गर्दै नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ।

‘विस्तृत शान्ति सम्झौताको दुई दशक : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन पुनः आग्रह’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरूले शान्ति सम्झौताको लामो समय बितिसक्दा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति अमृत शर्माको सभाध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले शान्ति प्रक्रियाको मूल मर्मअनुसार द्वन्द्वपीडितले न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सत्यको खोजी, न्याय र पीडितको सम्मानलाई प्राथमिकतामा राखेर संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा द्वन्द्वपीडित नवीन योगीले आफ्नो पीडादायी अनुभव सुनाउँदै हजुरबुवाको किरियामा बसेको समयमा आफ्ना बुबाको तत्कालीन विद्रोही पक्षबाट हत्या गरिएको बताउनुभयो। घटनाको लामो समय बितिसक्दा पनि अहिलेसम्म न्याय पाउन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। आफ्ना बुबाको हत्याको पीडा र न्यायको प्रतीक्षाले अझै पनि आफूलाई दुःखी बनाइरहेको उल्लेख गर्दै उहाँले आफूले भोग्नुपरेको जस्तो पीडा अरू कसैले भोग्न नपरोस् भन्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले द्वन्द्वपीडितका परिवारले न्याय र सत्यको अनुभूति गर्न पाउनुपर्ने बताउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सचिव निर्मल नेपालीले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो। अवधारणापत्रमाथि छलफल गर्दै सहभागीहरूले शान्ति सम्झौताको मर्मअनुसार पीडितलाई केन्द्रमा राखेर न्याय प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका उपसभापति माधव बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

नागरिक संवाद कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, पत्रकार, उद्योगी, व्यवसायी, कानुन क्षेत्रका विज्ञ, समाजका सरोकारवाला व्यक्तिहरू तथा शाखाका पूर्व एवं निवर्तमान सभापतिलगायतको उपस्थिति रहेको थियो।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सचिव मधुसूदन गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरूले शान्ति सम्झौताको उपलब्धिलाई संस्थागत गर्दै द्वन्द्वपीडितलाई न्याय, परिपूरण र सम्मानजनक जीवनको सुनिश्चितता गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस