
दाङ, ९ फागुन । रोजगारीका लागि कुबेत गएका तुलसीपुरका भुपेश सार्कीको शव घर आइपुगेको छ । गत माघ २६ गते कुबेतमा रहस्यमय मृत्यु भएका भुपेशको शब शुक्रबार बिहान घर आइपुगेको हो ।
तुलसीपुर–१२ कपडादेवी निवासी ३० वर्षिय भुपेश दुई वर्ष अघि रोजगारीका लागि कुवेत जानुभएको थियो । आफन्त पदम बहादुर सार्कीका अनुसार भुपेशले गत माघ ३० गते बुधबार घर आउने टिकट समेत लिइसक्नु भएको थियो । तर घर आउनुभन्दा चार दिन अगाडी रहस्यमय मृत्यु भएको उहाँले बताउनुभयो ।
मृत्यु भएको १३ दिनपछि शब घरमा आइपुगेको हो । सामी कार्यक्रमको पहलमा शब भएपनि परिवारले बुझ्न पाएको उहाँले बताउनुभयो ।

मृतक भुपेशको घरमा श्रीमती, सानो छोरा र वृद्ध आमा हुनुहुन्छ । सानै उमेरमा बुवा गुमाएका भुपेश आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीका लागि विदेश जाने गर्नुभएको थियो । तर उहाँको कुबेतमै रहस्यमय निधन भएपछि परिवार शोकमा डुबेको छ । ‘घरमा कमाउने व्यक्ति नै गुमाएपछि परिवारमा ठुलो बज्रपात परेको छ ।’ उहाँले भन्नुभयो –‘काजक्रियाको काम सकिएपछि परिवारलाई राहत दिलाउन पहल गर्नेछौँ ।’

शव आइपुग्दा परिवारजनमात्र होइन, आफन्त र स्थानीय पनि भावविह्वल छन् । घर आउने तयारीमा रहेका भुपेशको रहस्यमय मृत्युले अत्यन्त दुखित भएको स्थानीय तुलसीपुर–६ का वडा सदस्य यमराज केसीले बताउनुभयो । उहाँले राज्यबाट पाउने आवश्यक सहयोग दिलाउन पहल पनि गर्ने बताउनुभयो ।
सामी कार्यक्रम तुलसीपुरका प्रमुख प्रिति घर्तीमगरले आफन्तले उहाँको मृत्युको खबर गरेपछि वैदेशिक रोजगार बोर्डको सहयोगमा शब घरसम्म आइपुगेको बताउनुभयो । भुपेशको शब तुलसीपुर–७ रानीघाट कालाखोलामा अन्तष्टी गरिने परिवारले जनाएको छ ।