दाङ, ९ जेठ ।
वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना रोकिन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय दाङमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको सूचना तथा परामर्श केन्द्रमा चालु आर्थिक वर्षको मंगलबारसम्म एक सय २५ वटा ठगीका उजुरी आएका छन् । जसबाट छ करोड ७० लाख १४ हजार तीन सय ५० रुपैयाँ बैदेशिक रोजगारका नाममा ठगी भएको छ ।
सामीका सूचना तथा परामर्शकर्ता रीता लामाले श्रम स्वीकृति नगर्दा, पैसा बुझाएको प्रमाण नराख्दा, नेपालको नभई भारत तथा अन्य देशको विमानस्थल प्रयोग गरी जाँदा, एजेन्टलाई शुरुमै राहदानी र पैसा बुझाउँदा, जाने देशको नियम र धर्म संस्कृति नबुझ्दा तथा सीप नसिकेर जाँदा धेरैजसो ठगिने तथा समस्यामा पर्ने गरेको
बताउनुभयो ।
दलालको भर परेर वा नबुझी विदेश जाँदा खाडी मुलुकमा दुई लाखसम्म, क्रोएसिया, पोल्याण्ड, माल्टाजस्ता युरोपियन देश जाने १० लाखसम्म र अमेरिका जाने ५० लाख रुपैयाँसम्ममा ठगिने गरेको देखिएको सुरक्षित आप्रवासन परियोजनाले जनाएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ ले इजाजतवालाले कसैलाई रोजगारीमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वैदेशिक रोजगारमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश नपठाएमा तीनदेखि सात वर्षसम्म कैद र तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना तथा इजाजतवालाको इजाजत रद्द हुने व्यवस्था गरेको छ । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।