२०८१ मङ्सिर २३ गते आइतवार

दाङको एउटा गाउँका १ सय भन्दा बढी युवा अवैधबाटोबाट अमेरिका

दाङ, २१ फागुन । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ को एउटा गाउँँमा प्रत्येक घरबाट युवा अवैध बाटो हुँदै अमेरिका पुगेका छन् । भएका जग्गा जमिन बैंकमा धरौटी राखेर लिएको लाखौं ऋण एजेन्टलाई बुझाउने र ज्यानको जोखिम मोल्दै अबैधबाटो अमेरिका भासिने क्रम बढ्दै गएको स्थानीयले बताएका छन् ।

वडाध्यक्ष सुनिल वलीले गाउँबाट अवैध किसिमले धेरै युवायुवतीहरू अमेरिका गएको बताउनुभयो । अहिलेसम्म गाउँका १०० भन्दा बढी युवा अमेरिका गएको उहाँको दाबी छ ।

त्यसरी अमेरिका जाने युवाहरूको घरमा वृद्ध बुवाआमा मात्रै छन् । खड्ग वली उमेरले ६० वर्ष छुने तयारीमा हुनुहुन्छ । भने उहाँकी श्रीमती लालमती ५५ वर्ष हुनुभयो । खड्ग र लालमतीको साझा श्रम कृषि पेशा नै हो ।

उहाँहरुका ६ भाइ छोरा छन् भने चारभाइ छोरा तल्लोबाटो हुँदै अमेरिका गए । कान्छा छोरा चेतन पनि अमेरिका जाने बाटोमा यात्रारत रहनुभएको छ । काइँला छोरा धर्मबहादुर पनि अमेरिका जाने कुरा गर्न थाल्नुभएको छ । शान्तिनगरको वडा नम्बर २ मा पर्ने उनीहरूको गाउँमा ‘रुकुमेली’ कै बाहुल्य छ ।

केही वर्ष अघि जसरी सुविधा खोज्दै उनीहरू रूकुमको गाउँ छोडेर दाङ झरेका थिए, त्यसरी नै सुविधासम्पन्न जिवनको सपना पछ्याउँदै सिंगो गाउँका युवायुवती अमेरिका भासिएका छन् ।

लालमतीका अनुसार माइला छोरा २०७२ सालमा सुरुमा खिमबहादुर करिब ४८ लाख रुपैयाँ एजेन्टलाई बुझएर अमेरिका पुग्नुभयो । जेठा देवेन्द्र पनि अमेरिका पुग्ने सपना पछ्याउँदै एक वर्षअघि उसै गरी जानुभयो । अहिले कान्छो छोरो चेतन पनि अमेरिका जान हिँडेपछि आमा लालमतीको मनमा आशंकाको आँधीहुरी मडारिएको छ ।

‘मलाई पाल्न फर्केर आउँछस् कि आउँदैनस् भनेर सोधेँ,’ उहाँले भन्नुभयो, ‘पैसा कमाएर आउँछु, आमाबुबा पाल्छु भन्यो। अमेरिका पुगेपछि नफर्किने हो कि जस्तो लाग्छ, कान्छाको मायाले रुन्छु ।’ सेतोपाटीमा दाङबाट नारायण खड्काले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस