विद्यार्थी जीवनदेखि नै म नेपाली कांग्रेसको लोकतान्त्रिक विचार र मूल्यसँग जोडिँदै आएको छु। २०७१ सालमा नेविसंघसँग जोडिएर सुरु भएको मेरो राजनीतिक यात्रा, अध्ययन पूरा गरेपछि पनि निरन्तर अगाडि बढ्यो।
२०७६ सालपछि व्यावसायिक जीवनमा प्रवेश गरेसँगै म इन्जिनियर्स फर डेमोक्रेटिक इन्जिनियर्स नेपालसँग आबद्ध भएँ। त्यहाँ पनि मेरो राजनीतिक तथा व्यावसायिक यात्रा निरन्तर रह्यो। सातौँ कार्यकारिणीमा केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा पनि मैले आफ्नो भूमिका प्रस्तुत गरेँ। त्यो निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसके पनि, त्यसले मेरो यात्रा रोकिएन। बरु लोकतान्त्रिक विचार र प्राविधिक क्षेत्रका साथीहरूसँगको सहकार्य अझ बलियो हुँदै गयो।
आजसम्म आइपुग्दा मेरो कार्यक्षेत्र केवल राजनीतिमा सीमित छैन। पेसाले आर्किटेक्ट इन्जिनियरका रूपमा मैले विभिन्न पालिकाहरूमा भौतिक पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित काम गर्ने अवसर पाएको छु। विभिन्न विकास आयोजनामा काम गर्ने क्रममा मैले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विकासका वास्तविक आवश्यकता, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको छु।
राष्ट्रको गौरवसँग जोडिएका केही महत्वपूर्ण आयोजनामा समेत काम गर्ने अवसर पाएँ। भानु साहित्य महोत्सवजस्ता राष्ट्रिय महत्वका कार्यक्रमसँग सम्बन्धित काममा पनि संलग्न हुने अवसर प्राप्त भयो।
यी सबै अनुभवले मलाई एउटा कुरा सिकाएको छ—
राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन; समाज र राष्ट्र निर्माणमा आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्ने माध्यम पनि हो।
त्यसैले अब मेरो अनुभवलाई पार्टीको नीति निर्माणमा पनि उपयोग गर्नुपर्छ भन्ने महसुस भएको छ।
विशेषगरी विकास नीति, पूर्वाधार नीति र आर्थिक नीतिका विषयमा मैले आफ्नो व्यावसायिक अनुभव र व्यवहारिक ज्ञानका आधारमा नेपाली कांग्रेसलाई योगदान दिन सक्छु भन्ने विश्वास लिएको छु।
परिस्थिति परिवर्तन हुँदैछ। नेपाली कांग्रेसमा पनि युवाहरूको सक्रिय सहभागिता र नयाँ पुस्ताको विचारलाई स्थान दिनुपर्ने आवश्यकता अझ बढेको छ। त्यसैले पेसागत अनुभव बोकेको युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा योगदान पुर्याउने उद्देश्यले मैले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दाङ क्षेत्र नम्बर ३ बाट युवा क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी दिएको छु।
मेरो उम्मेदवारी कुनै पदका लागि मात्र होइन,
अनुभवलाई नीतिसँग जोड्न, युवाको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्याउन र आफ्नो ज्ञान तथा सीपलाई पार्टी र राष्ट्र निर्माणमा योगदान गर्न हो।
म यहाँहरूसँग मत मात्र माग्न आएको छैन।
म यहाँहरूको विश्वास, आशीर्वाद र साथ माग्न आएको छु।


