दाङ । दाङमा बसको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १३ निवासी चेतबहादुर केसीको बसको ठक्करबाट मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत केसी सवार मोटरसाइकललाई शुक्रबार बेलुका बसले ठक्कर दिएको हो । नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुबहाक बसले केसी सवार मोटरसाइकललाई शुक्रबार बेलुकातिर ठक्कर दिएको थियो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ए ए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते हुनुभएको थियो ।
घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको छ ।


