२०८३ असोज २१ गते बुधवार

कपुरकोटमा मातृभूमि लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण


सल्यान, २१ असोज । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड कपुरकोट शाखाले कपुरकोट गाउँपालिका–२ गर्पामा रहेको केन्द्र नं. २८ का सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ।


केन्द्र नं. २८ की सदस्य गंगी बुढाको मृत्यु भएपछि उहाँका श्रीमान् शिवराज बुढालाई रु. ३ लाख २० हजार बीमा रकम हस्तान्तरण गरिएको हो।


केन्द्र नं. २८ की तुलमती पुनको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिका–२ का वडा सदस्य चन्दलाल वलीको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा मातृभूमि लघुवित्त कपुरकोट शाखा प्रमुख सुशील केसीले संस्थामार्फत सदस्यको बीमा गरिएको र सदस्यको मृत्यु भएपछि बीमा रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो। उहाँले लघुवित्तका सदस्यलाई आर्थिक कारोबारसँगै सामाजिक सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।


मृतक बुढाका परिवारलाई हस्तान्तरण गरिएको बीमा रकमले शोकको अवस्थामा केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस