तुलसीपुर, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ बाट राघव देवकोटाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।
देवकोटाले आफूलाई ३५ वर्षमुनिको युवा समूहबाट महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्नुभएको हाे ।
उहाँले तत्कालीन क्षेत्रीय सभापति स्वर्गीय बसन्त देवकोटाको राजनीतिक संस्कार र विरासतलाई आत्मसात गर्दै पार्टी संगठनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले क्षेत्रीय प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि अमूल्य मत तथा साथ प्रदान गर्न आग्रह गर्नुभएकाे छ ।
नेपाली कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
दाङ क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि चयनका लागि १ हजार २ सय ३४ जना क्षेत्रीय प्रतिनिधि रहेको विवरण सार्वजनिक भएको छ।


