२०८२ बैशाख ३० गते मङ्गलवार

युक्रेनी सेनाको आक्रमणमा परी रोल्पाका घनसिंहको मृत्य


रोल्पा, १३ फागुन । युक्रेनी सेनाको आक्रमणमा परी रोल्पाका एक युवकको मृत्य भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।

तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उहाँको मृत्यु भएको उहाँसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्‍याएपछि मृत्यु भएको पुष्टि भएको हो ।

उहाँसँग नेपालका करिब १२ जना बढी युवाले सैन्य तालिम लिने तयारीमा थिए । उहाँका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर बताए ।

मृत्यु हुनुअघि उहाँले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताउनुभएको थियो । त्यस अवधिमा उहाँले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत आग्रह गर्नुभएको थियो ।

घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताउनुभयो । ‘बाहिर गएर कमाइ गर्ने योजनामा भएको जानकारी थियो, तर एकैपटक रुस पुगेर मृत्यु भएको खबर सुन्दा हामी दुःखी भएका छौं,’ उहाँले भन्नुभयो-‘आर्थिक समस्यामा परेकाले कमाइ गर्न बाहिर देश जान खोजेको तर त्यहाँ पुग्न पनि पैसा नभएको उहाँले बताउने गरेको थियो ।’

घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिनुभएको थियो । परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । रुस पुग्नुअघि उहाँ दुई वर्ष कतार बस्नुभएको थियो । चाहेजस्तो कमाइ नभएपछि फर्केर दाङमा मोबाइल पसल चलाउनुभएको थियो ।

त्यसअघि उहाँले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गर्नुभएको थियो । सानैमा बुबा आमा गुमाएका उहाँका कान्छा भाइ कमल वैदेशिक रोजगारीमा खाडीमा छन् भने दुई छोरी र एउटा छोरा पढाउन श्रीमती दाङमा छिन् ।

घटनापछि घर र गाउँ नै शोकमग्न भएको त्रिवेणी गाउँपालिका-७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले गैरकानुनी तरिकाले रशिया पुगेका वडाका दुई युवा भने फिर्ता आइसकेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाबाट रुस वा अन्य गैरकानुनी तरिकाले विदेश पुगेकोहरूको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो । उहाँले गैरकानुनी तरिकाले कानुनले जान नदिएको मुलकमा पुगेर अफ्ठेरो व्यहोर्नुभन्दा पहिले नै नजान आग्रह गर्नुपर्ने बताउनुभयो । ईकान्तिपुरमा रोल्पाबाट काँशीराम डाँगीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस