२०८१ माघ ९ गते बुधवार

शिवराज हत्या प्रकरण : श्रीमती दीपासंगको अनैतिक सम्बन्ध थाहा पाएपछि श्रीमानले मागे जग्गा, नदिएपछि हत्या

दाङ, १९ पुस । शिवराज केसीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षिय शिवराज केसीको हत्यामा संलग्न बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर मगर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर मगर , दीपाका भाइ २९ वर्षीय तिलक पुन र मेघराज कुँवर मगरलाई पक्राउ गरेको हो ।

केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ६० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो ।

बुधबार प्रहरीले बरामद भएको भरूवा बन्दुकसहित उनीहरू सबैलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पुस ८ गते घोराही बजार जान्छु भनेर निस्केका शिवराजको शव पुस १३ गते सुरूङभित्र फेला परेको थियो

त्यस दिन दीपा कवर र शिवराज एउटै बस चढेर बंगलाचुलीतर्फ गएका थिए। दीपाले आफूले जग्गा कारोबार गर्न लागेकाले जमानी बसिदिन भन्दै शिवराजलाई लगेकी थिइन् । शिवराजले निस्किने बेलामा आफ्नो परिवारलाई घोराही बजार जान लागेको र बेलुका घर फर्किने बताएका थिए।

पछिल्लो समय दीपा बालबच्चासहित घोराहीमै बस्दै आएकी थिइन् । यो सबै चाँजोपाँजो शिवराजले नै मिलाइदिएको प्रहरी स्रोतले बताएको छ । शिवराजले स्थानीय एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भनसुन गरी दीपालाई कार्यालय सहयोगीको जागिर पनि मिलाइदिएका थिए ।

शिवराज सानोतिनो पेटी-ठेकेदारका रूपमा काम गर्थे। स्रोतका अनुसार दीपा शिवराजकहाँ बंगलाचुलीबाट ज्यालामजदुरी काम गर्न आउँदा उनीहरूको चिनजान भएको थियो। पछि उनीहरूबीच सम्बन्ध स्थापित भएको थियो ।

दीपाका श्रीमान शेरबहादुर कवर मगर भने रोजगारीको खोजीमा भारत आउजाउ गरिरहन्थे। दीपा र शिवराजको सम्बन्धबारे गाइँगुइँ हल्ला थियो। आफन्तमार्फत शेरबहादुरले त्यो थाहा पाइसकेका थिए। त्यसैले उनी पुस ४ गते भारतबाट बंगलाचुली – ४ गदारी गाउँमा आएर बसे।

त्यसअघि नै शेरबहादुरले दीपालाई अब के गर्ने भनेर योजना सुनाएका थिए। शेरबहादुरको योजना अनुसारै दीपाले शिवराजलाई बंगलाचुलीको कोइलाखानी उत्खनन क्षेत्रमा पुर्‍याएको तथ्य अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

त्यहाँ जंगलमा पहिल्यै शेरबहादुर बन्दुकसहित बसिरहेका थिए ।

’मैले जग्गाको काम गर्न थालेकी छु, तपाईं जमानी बस्न जानुपर्छ भनेर दीपाले शिवराजलाई बंगलाचुली लगेको अनुसन्धानबाट खुलेको छ,’ एसपी केसीले भने, ’दीपाले यो सबै काम श्रीमानकै योजना अनुसार गरेको देखिन्छ ।’

दीपाले जंगलको एकान्तस्थलमा शिवराजलाई पुर्‍याएपछि शेरबहादुर पनि त्यहीँ आए। शेरबहादुरले आफूसँगै लगेको प्लास्टिकको डोरी दीपालाई खुसुक्क दिए। दीपाले शिवराजको हात पछाडि लगेर बाँधिदिइन्। आफ्नो सल पनि निकालेर डोरीमाथि कसिदिइन्।

त्यसपछि शेरबहादुरले आफ्नी श्रीमतीसँगको अनैतिक सम्बन्धबारे शिवराजसँग कुरा गरे। क्षतिपूर्ति माग गरे । केही जग्गा दीपा वा छोराको नाममा पास गरिदिन दबाब दिए। शिवराजले मानेनन्। त्यसपछि रिसाएका शेरबहादुरले शिवराजलाई कोइलाखानीको सुरूङभित्र लगे।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार त्यही सुरूङभित्र शिवराजमाथि गोली प्रहार गरी उनको हत्या गरिएको हो ।

सुरूङभित्र दीपा प्रवेश गरिन् कि गरिनन्, शिवराजको हत्या गर्दा उनी सुरूङभित्र थिइन् कि बाहिर भन्ने कुरा चाहिँ स्पष्ट भइसकेको छैन। शेरबहादुरले शिवराजको हत्याबारे बनाएको योजनाबारे भने दीपा पहिल्यै जानकार रहेको घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

हत्या प्रकरण यसरी पत्ता लाग्यो

पुस ८ गते घोराहीबाट सँगै बस चढेर गए पनि त्यो दिन दुवै जना फर्केनन्। पुस ९ गते दीपा आफूले काम गर्दै आएको ठाउँमा फर्किइन्। शिवराजका आफन्तले दीपालाई शिवराजका बारेमा सोधपुछ गरे। उनले आफूलाई केही थाहा नभएको बताइन् ।

पुस १० गते शिवराजका दाजु डम्मर केसीले भाइको खोजी गरिदिन प्रहरीमा निवेदन दिए। पुस १३ गते दीपा छोराछोरीसहित भारत जाने भन्दै हिँडिन्। डम्मरले दीपाले नै भाइको हत्या गरी कतै लुकाइछिपाइ राखेको हुन सक्ने आशंकासहित प्रहरीमा निवेदन दिए ।

त्यो किटानी जाहेरीपछि प्रहरीले शिवराजको फोनको अन्तिम लोकेसन निकाल्यो। खोजी गर्दै जाँदा कोइलाखानीको सुरूङभित्र ६० मिटर गहिराइमा शिवराजको शव फेला पर्‍यो। उनको छातीमा गोलीको दाग स्पष्ट थियो। शरीर कोइलाको धूलोले छोपिएको थियो।

पुस १४ गते शिवराजका साला शिवराज वलीले दीपा, शेरबहादुर र दीपाका भाइ तिलकविरूद्ध किटानी जाहेरी दिए। त्यसकै आधारमा प्रहरी दीपा र शेरबहादुरको खोजीमा लाग्यो। उनीहरू भारतको दिल्ली पुगिसकेका थिए। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले दाङ ल्यायो।
डिएसपी मल्लका अनुसार हत्यापछि दीपाले शेरबहादुरलाई आफ्ना भाइ तिलकको घर पुर्‍याएकी थिइन्। तिलककै घरमा बनेको योजना अनुसार दीपा पुस ९ गते घोराही फर्किएकी थिइन्। अनि पुस १३ गते परिवारै भारत लागेका थिए ।

यी तीनै जना पक्राउ परेपछि प्रहरीले पुस १५ गते मेघराज कवरलाई पनि पक्राउ गर्‍यो। शिवराजको हत्यामा प्रयोग भएको बन्दुक उनकै हो। शेरबहादुरले शिवराजको हत्यापछि उक्त बन्दुक फेरि मेघराजकै घरमा लगेर छोडेका थिए।

मेघराज पनि शेरबहादुरका नातेदार नै रहेको प्रहरी बताउँछ ।

’घरमा अवैध रूपमा बन्दुक राखिएको छ। अनि त्यो बन्दुक कसैले माग्दैमा दिइएको नि छ,’ प्रहरी प्रवक्ता मल्लले भने, ’त्यो बन्दुक फिर्ता ल्याएर दिँदा मेघराजलाई घटनाबारे केही थाहा थिएन भनेर कसरी पत्याउने?’ -सेतोपाटीबाट

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस