हापुरे, १ भदौ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले पश्चिम दाङको हापुरेमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको छ । । नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता,नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय महासचिव चन्द र अध्यक्ष खत्रीले संयूक्तरुपमा आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले जिल्लाको पश्चिमी क्षेत्रमा रहेका सर्वसाधारणलाई सहज, सरल तथा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बबई गाउँपालिका वडा नं. ५, हापुरे बजारमा आँखा उपचार केन्द्र सञ्चालन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि चन्दले २०३५ सालमा स्थापित नेपाल नेत्र ज्योति संघले देशभर २८ वटा आँखा अस्पताल र २५० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत दृष्टिविहीनता न्यूनीकरण तथा आँखा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउदै दाङको हापुरेमा सञ्चालन भएको आँखा उपचार केन्द्रबाट सर्वसाधारणले गुणस्तरीय आँखा उपचार सेवा पाउने बताए ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले करिव ५ करोड २ लाख ६८ हजारलाई ओपिडि सेवा र ५६ लाख १९ हजार २ सय २४ को शल्यक्रिया गरि उज्यालो प्रदान गरेको महासचिव चन्दले बताए । उनले नेपाल संगै अन्य राष्ट्रका नागरिकलाई समेत सेवा दिई रहेको बताए ।
त्यस्तै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले अव गाउँपालिकाका नागरिकहरुले पालिका भित्रनै आँखा उपचार सेवा पाने बताए । उनले आफुहरुले विगत देखिनै राप्ती आँखा अस्पताल संग साझेदारी गरेर आँखा उपचार तथा शल्यक्रिया सेवा नागरिलाई दिदै आएको र आगामी दिनमा पनि सहकार्य र साझेदारीमा जनतालाई आँखा उपचार सेवा दिने बताए ।
कार्यक्रममा वडा नंं २ का अध्यक्ष अध्यक्ष टेकबहादुर वली स्थानीय वासी पूर्ण केसी, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीले दाङ जिल्लाको पश्चिमी तथा ग्रामीण भेगका धेरैजसो नागरिकहरू अझै पनि सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्नबाट वञ्चित रहेको अवस्थामा दुर्गम तथा सेवाबाट वञ्चित हजारौँ नागरिकले स्थानीयस्तरमै आँखा उपचार केन्द्रबाट सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्ने बताए ।
कार्यक्रममा राप्ती आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले नेपाल सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति तथा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य कार्यान्वयनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा सहित जनताको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने यस महत्वपूर्ण कार्यलाई मध्यनजर गर्दै बबई गाउँपालिका वडा नं. ५, हापुरे बजारमा आँखा उपचार केन्द्र सञ्चालन गरेको बताए ।
त्यस्तै सो अवसरमा निःशुल्क आँखा जाँच कार्यक्रम अन्तर्गत ६ सय बढीको आँखा चेकजाँच गरिएको र जस मध्य ८० भन्दा बढी शल्यक्रिया गर्नुपर्ने विरामीहरु फेला परेका छन् । उनीहरुलाई राप्ती आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।
आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय प्रवक्ता द्रोर्णप्रसाद गुरागाई, नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदी, सदस्य गिता भुसाल, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, अस्पतालका मे.सु सहायक प्रा.डा रन्जितकुमार साह, राजनितिकदल, विभिन्न संघ संस्था, कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
नेपाल नेत्रज्योति संघको केन्द्रिय बैठक
त्यसैविच नेपाल नेत्रज्योति संघको केन्द्रिय नियमीत बैठक राप्ती आँखा अस्पतालमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, दाङ शाखाको आतिथ्यमा भएको बैठकमा नेपाल नेत्रज्योति संघका पूर्व मेचि देखि पश्चिम महाकालि सम्मका आँखा क्षेत्रमा काम गर्ने समाजसेवि तथा नेतृत्व वर्गको सहभागीता रहेको थियो ।
त्यस्तै विभिन्न प्रदेश र जिल्ला शाखाका सभापतिहरुको सहभागीता रहेको थियो । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष प्रा.डा चेतराज पन्तको प्रमुख आतिथ्यमा राप्ती आँखा अस्पतालमा भएको स्वागत भेटघाट कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले सञ्चालन गरेका अस्पतालले दिएका सेवा सञ्चालन भएका कार्यक्रम र भावि कार्यक्रम रणनितिका विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा केन्द्रीय अध्यक्ष प्रा.डा पन्तले नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित अस्पतालहरुको सेवा र कार्यक्रमहरु उत्कृष्ट भएको बताएका थिए । नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष श्यामकुमार पोख्रेल, महासचिव भरतबहादुर चन्दलगायतले अस्पतालको सेवा र कार्यक्रमहरु उत्कृष्ट रहेको बताएका थिए ।
कार्यक्रममा सभापति गिरीले आँखा अस्पतालको विकास विस्तारमा आफुहरु निरन्तर लागेको भन्दै केन्द्रीय पदाधिकारीहरुलाई दाङमा स्वागत गर्न पाउँदा आफुहरु निकै आभारी भएको भन्दै दाङमा आई अध्ययन अवलोकन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव घनश्याम सुवेदीले गरेका थिए ।


