दाङ, २८ श्रावण । दाङ भ्याली यातायात प्रा.लिले पाँचौ स्थापना दिवस तथा बार्षिक उत्सव बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाले पाँचौ बर्ष पुरा गरी छैठौँ बर्षमा प्रबेश गरेको उपल्क्षमा बृहत सरसफाई कार्यक्रम लगाएत सामाजिक उतरदायित्वका कामहरु गरेको हो ।
संस्थाले तुलसीपुरमा बसपार्क पिपलबोट देखि पुलचोक सम्मको सडक क्षेत्र र बाहिनी चोक देखि मदनआश्रित चोक सम्म सरसफाई गरेको हो यस्तै घोराहीमा अम्बिकेश्वरी मन्दिर क्षेत्र, ट्राफिक चोक, बिपी चोक हुदै तुलसीपुर चोक सम्मको सडक क्षेत्रको बृहत रुपमा सरसफाई गरी स्थापना दिवस मनाईएको संस्थाका अध्यक्ष महेन्द्र महराले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा यातायात ब्यवसायी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामाजिक अभियान्ता लगाएतको सहभागिता रहेको थियो ।
त्यस्तै संस्थाले आफ्ना सवारी दुर्घटनामा परी ज्यान गुमाएका यातायात ब्यवसायी सदस्यको घरमै पुगी आर्थिक सहयोग समेत गरेको छ ।

श्रावण २२ गते मोटरसाईकल दुर्घटना परी ज्यान गमाएका तुलसीपुर उप-महानगरपालिका वडा नं. ११ निवासी २८ बर्षिय राजेन्द्र केसीको परिवारलाई दश हजार आर्थिक सहायता गरिएको संस्थाले जनाएको छ ।
त्यस्तै सामाजिक उतरदायित्व अन्तर्गत संस्थाले मानब सेवा आश्रम तुलसीपुरमा रहेका आश्रितहरुलाई दिवा खाजा खुवाई पचिस हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । सो अवसरमा घोराहीमा रहेका दुईवटा बृद्धाश्रमहरुलाई समेत खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
२०७८ सालमा स्थापना भएको दाङ भ्याली यातायात प्रा.लि यस अघि पनि रक्तदान, सरसफाई, सहयोग हस्तान्तरण लगाएत बिभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ । संस्थामा हाल दाङ जिल्लाभर एक हजार बढी तिन पाङ्ग्रे सवारी साधनहरु संस्थामा आबद्ध रहेको प्रा.लिले जनाएको छ ।


