२०८३ असार ९ गते मङ्गलवार

दाङमा वनको विषयलाई लिएर विवाद : बञ्चरो प्रहारबाट एकको मृत्यु


​दाङ, २६ वैशाख । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा शनिबार दिउँसो सामुदायिक वनको विषयलाई लिएर भएको विवादमा बञ्चरो प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।


​स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रमा वन पैदावार लिने विषयमा भएको विवादले उग्र रूप लिँदा सोही ठाउँका ५५ वर्षीय भोला यादवको हत्या भएको दाङ प्रहरीले जनाएको छ।


प्रारम्भिक अनुसन्धान अनुसार, सोही गाउँका ४० वर्षीय ईश्वर हरिजन (कनवा) ले यादवमाथि बञ्चरो प्रहार गरेका थिए।
​बञ्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो। घटना शनिबार दिउँसो करिब १२ः४५ बजेतिर भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।


घटनापछि आरोपी ईश्वर हरिजन फरार भएका छन्। उनको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरी अनुसन्धानलाई तीव्र बनाएको छ। मृतकको शव घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि अस्पताल पठाइने तयारी भइरहेको छ।


​वन क्षेत्रको विवादको विस्तृत प्रकृति र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस