दाङ, १४ साउन । दाङमा प्रहरीले बुधबार ठुलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ किलोग्राम लागुऔषध चरेससहित रुकुम पूर्वको भूमे गाउँपालिका–२ का करिब २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्व(पश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको विद्युतीय हाइसको पछिल्लो सिटमा राखिएका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्दा चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो ।
जाँचका क्रममा सोही स्थानमा रहेका एक जना पुरुष भागेको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन । घटनापछि उक्त झोला र सुटकेस आफ्नो भएको दाबी गर्ने २६ वर्षीय पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद लागु औषधसहित पुनलाई नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फरार भएका व्यक्तिको खोजी तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको छ ।


