२०८३ साउन २७ गते बुधवार

दाङका सौरब वलीले निर्माण गरेको चलचित्र ‘लज्जावती’ प्रदर्शनमा शुक्रबारबाट आउँदै


दाङ, २७ साउन । दाङका प्रतिभाशाली युवा सौरब वलीको सिर्जनात्मक उडानले अब रजतपटमा नयाँ कथा लेख्ने भएको छ ।

वलीद्वारा निर्मित उत्सुकता र कौतुहलले भरिपूर्ण चलचित्र ‘लज्जावती’ आउँदो शुक्रबार (साउन २९ गते) देखि देशैभरका हलहरूमा एकसाथ प्रदर्शनको तयारीमा जुटेको छ ।

चलचित्र पत्रकार संघ दाङ शाखाद्वारा बुधबार तुलसीपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संघका निवर्तमान केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले दाङकै माटोमा हुर्किएका कलाकार सौरब वलीको यो प्रयास केवल एउटा चलचित्र मात्र नभई सम्पूर्ण दङ्गालीको गौरव भएको बताउनुभयो ।

प्रेमकथाको कोमल र स्पन्दनशील तानाबानामा बुनिएको यो चलचित्रले दर्शकको मन छुने र अपार माया पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँका अनुसार चलचित्रका दुई गित समेत रिलिज भइसको छन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालले कला, संस्कृति र स्थानीय प्रतिभालाई राष्ट्रिय पहिचान दिलाउन सञ्चार जगत्‌को भूमिका एउटा बलियो पुल सरह हुने उल्लेख गर्नुभयो ।

मखमली भाव, प्रेमको मिठास र जीवनका तरङ्गहरू समेटिएको ‘लज्जावती’ले दर्शकलाई सन्तुष्टि दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस