२०८१ बैशाख ५ गते बुधवार

कुवेतमा २५ नेपाली अलपत्र

दाङ, १३ पुस । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् ।

म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको कुवेत पुगेका काभ्रेपलाञ्चोकका जीवन गौतमले जानकारी दिनुभयो ।

आफूहरूलाई करार सम्झौतामा कर लाइट ड्राइभर प्रतिमहिना ८ घण्टा २६ दिनको १ सय ४० केडी तलब सुविधा तोकिएको भए पनि अहिले यहाँ सम्झौतानुसारको काम र सेवा सुविधा नपाएको भन्दै उहाँले उद्धारका लागि अनुरोध गर्नुभएको छ ।

एक भिडियो सार्वजनिक गर्दै पीडितहरूले श्रम सम्झौतानुसार दैनिक ८ घण्टा काम गर्नुपर्ने, सातामा ६ दिन काम गर्नुपर्ने, मेडिकल तथा बस्ने सुविधा कम्पनीले नै बेहोर्नुपर्ने र करार अवधि दुई वर्ष हुने भनेर आएको भए पनि कम्पनीले तीन वर्ष अनिवार्य काम गर्नुपर्छ भनेको उनीहरूले बताएका छन् ।

कम्पनीको नियमानुसार मासिक ४ सय ५० ट्रिप डेलिभरी पूरा गरे मात्र १ सय २० केडी मात्र तलब दिने, त्यो पूरा नगरे कुवेती दिनर शून्य दशमलव ४ फिल्स मात्र दिने, कम्पनीले लाइसेन्स निकालिदिएबापतको २ सय ८० केडी काट्ने र प्रतिमहिना ३५ केडी तिर्नुपर्ने र कुनै दुर्घटना भए त्यसको क्षतिपूर्ति पनि कामदार आफैंले भर्नुपर्ने कम्पनीले दबाब दिएको भन्दै उनीहरूले सम्झौताबमोजिम काम र तलब सुविधा नपाएकाले उद्धार गर्न अनुरोध गरेका हुन् । सम्झौतापत्रमा भने यस्तो नरहेको उनीहरूले बताएका छन् ।

पाँच महिनाअघि त्यस कम्पनीमा पुगेका ११ जना नेपाली कुवेतस्थित नेपाली दूतावासमा पुगेर चार दिन बसी छलफल गरेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनीहरुको आरोप छ ।

कुवेतमा समस्यामा पर्ने नेपालीहरूमा चन्द्रबहादुर थापा, सुशीलकुमार थापा, अफ्रोज अन्सारी, सूर्य आले मगर, धु्रब भुर्तेल, नमराज दाहाल, अमल किरण, किरणबहादुर तामाङ, नितेश मगर, कमलेशकुमार सुडी, मनोज रोक्का, जनकराज घलान, सिंहलाल घिसिङ, प्रदीप महतो, किपक राई, जीवनकुमार गौतम, रविकुमार कार्की, हेमबहादुर थापा, जीवन आले मगर, मोहन लोडलगायत अन्य रहेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस