२०८१ असोज ४ गते शुक्रवार

भूकम्पपछि त्रिपालमा बस्दै आएकी एक किशोरीमाथि बलात्कार

जाजरकोट, १२ पुस । भूकम्पपछि त्रिपालमा बस्दै आएकी जाजरकोटकी एक किशोरीमाथि बलात्कार भएको छ । त्रिपालमा बस्दै आएकी २१ वर्षकी किशोरीमाथि कात्तिक २६ गते राति साढे ८ बजे बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

शौचालय गएकी किशोरीलाई फर्किंदै गर्दा नलगाड नगरपालिका-१ का २१ वर्षका गोपाल वादीले बलात्कार गरेको भन्दै किशोरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दायर भएको थियो । गोपाल पनि त्रिपालमा बस्दै आएका थिए ।

प्रहरीले कात्तिक २७ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । बलात्कारको घटना भएको मौखिक जानकारीपछि प्रहरी तत्कालै घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनुभयो ।

२८ गते गोपाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मंसिर १७ गते गोपाललाई जिल्ला अदालत जाजरकोटले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भूकम्पपछि त्रिपालमा बस्दै आएका महिलाहरू दुव्र्यवहारमा पर्ने डरमा छन् । एकातिर ठिहिर्‍याउने जाडो, अर्कोतिर दुव्र्यवहारमा परिने हो कि भन्ने डर उनीहरूलाई छ । रातिको समयमा एक्लै शौचालयका लागि बाहिर निस्किन पर्दा डर लाग्ने गरेको महिलाहरू बताउँछन् । नलगाड नगरपालिका-१ की प्रतीक्षा महरका श्रीमान् श्रीमती र बालबालिकालाई छोडेर काममा पनि जान सकेका छैनन् । पालको बसाइ असुरक्षित भएकोले श्रीमान् कामका लागि काठमाडौं फर्किन नसकेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस