दाङ, ७ पुस । दाङमा दश हजार बढीलाई वैदेशिक रोजगार सम्बन्धि सुचना तथा परामर्श प्रदान गरिएका छ ।
जिल्लाका तीन स्थानमा सञ्चालित सूचना तथा परामर्श केन्द्र मार्फत बितेको पाँच महिनामा वैदेशिक रोजगारी सम्बन्धी १० हजार ४ सय ७८ जनालाई सूचना तथा परामर्श प्रदान गरिएको हो ।
जसअन्तर्गत घोराही केन्द्रबाट ४ हजार तीन सय ६९ जना, तुलसीपुर केन्द्रबाट ४ हजार ४ सय १५ जना र लमही केन्द्रबाट एक हजार ६ सय ९४ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको घोराही केन्द्रका प्रमुख रीता लामाले जानकारी दिनुभयो ।
यसैगरी केन्द्रले ४८ जनालाई विभिन्न सिप प्रदान गरेको छ । जसअन्तर्गत घोराहीबाट २३ जना, लमहीबाट १६ जना र तुलसीपुर केन्द्रबाट ९ जनालाई तालिम दिन सहजीकरण गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय पाँच जनालाई सिप प्रदान गरिएको थियो ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका तथा मृतकका परिवालाई एक करोडभन्दा बढी आर्थिक सहायताका लागि केन्द्रले सहजीकरण गरेको सूचना तथा परामर्श केन्द्रकी परामर्शदाता लामाले बताउनुभयो ।