२०८१ जेष्ठ ५ गते शनिवार

व्यवसायीलाई पलायन हुनबाट बचाउन मेरो उम्मेदवारी हो : नरेश कुमार श्रेष्ठ

दाङ जिल्ला उद्योग वाणिज्य संघ यही असोज १३ गते अधिवेशनको तयारीमा जुटेको छ । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा वैद्य समूह लगायतको संयुक्त व्यवसायी प्यानल बनेको छ ।

जसको नेतृत्व गरेका छन् बसन्त जोशीले गर्नु भएको छ । सोही प्यानलबाट वडा अध्यक्षदेखी व्यवसायिक नेतृत्वसम्मको जिम्मेवारी सक्षम रुपमा पुरा गर्न सफल नरेश कुमार श्रेष्ठ यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि बलिया उम्मेद्वारका रुपमा चिनिनु भएको छ ।

लामो समयदेखी व्यवसायिक क्षेत्र तथा विभिन्न क्षेत्रमा राम्रो सफलता भेट्दै आउनु भएका श्रेष्ठले दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि गठबन्धन प्यानलबाट उम्मेद्वारी दर्ता गर्नुभएको हो ।

तपाईंको उम्मेद्बारी किन ?

म बिगत लामो समयदेखि यही क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको छु र आफूले व्यवसाय गरेको वस्तुगत संघको विभिन्न तहमा रहेर नेतृत्व निर्वाह पनि गरेको छु । यसैलाई निरन्तरता दिंदै दाङ जिल्ला उद्योग वाणिज्य संघको एक कार्यकाल सचिवको जिम्मेवारी पदमा साथै वि.सं. २०५४ सालमा तत्कालिन प्युठानको भिङ्ग्री गाविस वडा नंम्वर २ को वडा अध्यक्षको जिम्मेवारी पुरा कुशलतापूर्वक पूरा गरेको छु ।

संस्थामा जोडिएपछि संस्थाको गरिमा, व्यवसायीको हकहित र यहाँको विकासका बारेमा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरिसकेको हुँदा अब संस्थाको नेतृत्वमा रही अहिलेको संकटमा व्यवसायीको समस्या समाधान, व्यवसायीहरुको संस्थागत विकासका साथै यस क्षेत्रको विकासमा समेत महत्वपूर्ण निर्वाह गर्ने उद्देश्यका साथ मेरो उम्मेदवारी रहेको छ ।

साथै दाङमा नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको कामलाई तिव्रता दिन, घोराहीका व्यवसायीहरुलाई विस्थापित हुनबाट रोक्दै यस क्षेत्रमै व्यवसायिक वातावरण श्रृजना गर्न मेरो उम्मेद्वारी हो । नेतृत्वमा तपाईंलाई नै भोट किन ? संघका विभिन्न तहमा रहेर कार्य सम्पादन गरेको छु । जिम्मेवारीमा रहँदा नरहँदा सफलतापूर्वक कार्य सम्पन्न गरेको छु ।

मैले तिन वर्ष सम्म उद्योग वाणिज्य संघको सचिवको पदमा रहदा बैंक ब्याज बृद्धिको बिरुद्धमा खरो रुपमा आवाज उठाउनुका साथै हरेक व्यवसायिक समस्यालाई नजिकबाट नियालेर कार्यसम्पादन गरेको छु । त्यो मात्रै नभई घोराही क्षेत्रलाई लुम्बिनी प्रदेशकै व्यवसायिक हव बनाउने विषयलाई प्राथमिकता दिएर काम गर्दै पनि आएको छ ।

अनुभवका आधारमा यस संघ र संघका सदस्यहरुको सुरक्षा र क्षमता विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकाले मतदाताहरुले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।

तपाईंले नेतृत्व लिइरहँदा संस्थाको उन्न्यनका लागि तपाईले तर्जुमा गरेका योजना के हुन् ?

समस्या अहिलेसम्म हामीले व्यवसायीको मात्र हो भन्ने गरी व्याख्या गरिएको छ ।

तर, संस्थाको उन्नतिका लागि सामाजिक र अन्य बहुआयामिक वस्तुहरुको पनि भरोसा बनाउन सकियो भने संस्था गतिशील हुन्छ । दाङमा केही उद्योग छन् त्यसका अतिरिक्त अन्य व्यवसाय पनि सञ्चालन हुँदै आएका छन् । दाङमा हामीले आयात गरेर जसरी व्यापार चलाई रहेका छौँ, त्यसरी नै अब दिगो विकासका लागि निर्यातलाई बढाउन सक्नुपर्छ ।

दाङमा कृषि, पशुपालन, मत्स्यपालन, फलफुल खेतीलगायत साना घरेलु उद्योग तथा ठुला उद्योगको सम्भावना निकै छ । यिनै क्षेत्रमा चलिरहेका व्यापार, खेतीपाती तथा उद्योगलाई विस्तार गरेर दाङलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तीनवटै तहका सरकारसँग समन्वय तथा सहकार्य अबको आवश्यकता हो । यसलाई मैले अपरिहार्य ठानेको छु ।

दाङको उत्पादनलाई ब्रान्ड बनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको व्यवस्थापनका योजना अबको आवश्यकता हो ।

अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? अब यो इच्छाशक्तिलाई ज्ञानशक्तिका माध्यमबाट क्रियाशक्तिमा बदल्न सक्नुपर्छ ।

आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना बनाउनुभएको छ ?

दुई पटकको काभिडको असरले यतिबेला देश नै आर्थिक मन्दीको चपेटामा परेको छ । अझ त्यसमाथि व्यावसायिक क्षेत्र त अत्यन्त प्रभावित भएको अवस्था हो । राज्यका निकायहरु यसप्रति संवेदनशील भएको पाइदैन । यतिबेला व्यवसायीलाई व्यवसायमा टिकाउने खालका रणनीति अवलम्वन गर्न आवश्यक रहेको छ ।

जसका लागि राज्यका विभिन्न निकायसँग सहकार्य र परामर्श गरी समस्या समाधान गर्न सकिन्छ । अहिले व्यावसायिक कारोबार बढाउनेभन्दा गम्भीर कुरा आर्थिक सङ्कट गुज्रिरहँदा बैंकको ऋण होस् या व्यक्तिको ऋणबाट दिन प्रतिदिन व्यवसायबाट पलायन हुने क्रम जारी छ ।

यसबाट रोक्न र व्यवसायीलाई बचाउन संस्था नै अगाडि लागेर कानुनी र व्यवहारिक उपाय खोज्ने काम हुन्छ । आर्थिक मन्दीले थलिएका व्यवसायीका पक्षमा सहज वातावरण कायम गर्न लाग्नुपर्छ भन्ने मान्यताका साथ योजना बनाएको छु ।

तपाईको जितका आधार के छन् ?

मैले मेरो उम्मेदवारीको पदमा जित्ने प्रशस्त आधार छन् । लामो समयदेखि संघको वस्तुगत संघ र दाङ जिल्ला उवासंघको विभिन्न पदीय दायित्वमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेको सबै व्यवसायीहरुले बुझिरहनुभएको छ ।

जिम्मेवारीमा रहँदा मैले आफ्नो काममा भन्दा पनि व्यवसायीका समस्यामा निरन्तर लागिरहे, संघको दिगो विकासमा आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको छैन, यस क्षेत्रलाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार र स्थानीय आर्थिक विकासका लागि विशेष पहल गर्ने मेरो सोंच रहेको छ ।

व्यवसायिक सुरक्षा, विकास र एकता मेरो मूल मन्त्र हो । जसलाई आम व्यवसायीहरुले बुझ्नु भएको छ । साथै निरन्तर रुपमा व्यवसायीसँगै रहेर सुख दुःखमा साथ रहँदै आएको छु ।

म नेतृत्वको लागि तयार भइरहँदाको पहिलो आत्मविश्वास मेरा व्यवसायी मित्रहरु हुनुहुन्छ । म व्यवसायी मित्रको रोजाइ र चाहनामा परेको छु यतिबेला । यो उम्मेदवारी मेरो मात्र होइन आम व्यवसायीहरुको पनि हो । जो मेरो जितका आधार हुन् ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस