
दाङ, २८ फागुन । भोला थापा बिगत छ वर्षदेखि खानेपानी व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न रहनुभएको छ । हजारौँ उपभोक्ताहरूलाई सहज, सरल र पारदर्शी रूपमा खानेपानी सेवा उपलब्ध गराउने कार्यमा विशेष योगदान दिनुभएका उहाँले पछिल्लो पटक फेरि कोषाध्यक्ष पदमा दोहोरिने गरी उमेदवारी दिनुभएको छ ।
तुलसीपुर–७, जवपुरका स्थायी बासिन्दा थापा आफ्नो सेवा यात्रालाई निरन्तरता दिने लक्ष्यसहित पुनः कोषाध्यक्ष पदका लागि प्रतिष्पर्धामा रहनुभएको छ ।
सामाजिक सेवा र सार्वजनिक हितका कार्यमा लामो समयदेखि सक्रिय रहँदै आएका थापाले आफ्नो कार्यकालमा खानेपानी सेवामा पारदर्शिता, प्रविधिमैत्री प्रणाली र सहज आपूर्तिलाई प्राथमिकता दिनुभएको छ ।
यही अनुभवलाई अझ फराकिलो बनाउन आगामी कार्यकालमा तुलसीपुर क्षेत्रको खानेपानी समस्यालाई स्थायी समाधान दिने लक्ष्यसहित पुन : उम्मेदवारी दिनुभएको हो । लिलाधर थापा र रुमावती थापाका सुपुत्र भोला थापाले बिएसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
जीवनका प्रारम्भिक दिनहरू आर्थिक संघर्षमा बिताउनुभएका उहाँले पारिवारिक कठिनाइहरूका बीच पनि सामाजिक कार्यमा सक्रियता देखाउनुभएको छ । संघर्षकै बीच उहाँले आफ्नो समुदायका समस्या बुझ्ने अवसर पाउनुभयो । जसले उहाँलाई जनसेवा गर्न प्रेरित गर्यो ।
सुरुवाती दिनमा थापा विभिन्न सामाजिक संस्थासँग आबद्ध हुँदै जानुभयो । अनि समाजसेवा गर्ने तीव्र इच्छाशक्ति भएका उहाँले विशेष गरी उद्योग, व्यवसाय, युवासँग सम्बन्धित संस्था तथा खानेपानी व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।
थापाले विभिन्न संघसंस्थामा रहेर समाजसेवामा योगदान पुर्याउनुभएको छ । उहाँ सन् २०१५ मा तुलसीपुर नगर जेसिजका कोषाध्यक्ष बन्नुभएको थियो । जेसिजमा काम गर्दै गर्दा उहाँले युवा नेतृत्व विकास, सामाजिक विकास र व्यावसायिक सशक्तीकरणका क्षेत्रमा काम गर्नुभयो ।
त्यसपछि उहाँले तुलसीपुर उद्योग वाणिज्य संघको इलेक्ट्रोनिक्स व्यवसायी उपसमिति संयोजकका रूपमा कार्य गर्नुभयो । व्यवसायी समुदायको हकहितका लागि काम गर्दै उहाँले व्यवसायीहरूका समस्या समाधानका लागि पहल गर्नुभयो ।
उहाँले प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको कार्यसमिति सदस्य भएर पनि काम गरिरहनुभएको छ । यस क्रममा उहाँ व्यवसाय प्रवद्र्धन, लगानी संरक्षण तथा व्यवसायमैत्री नीति निर्माणको पक्षमा सक्रिय देखिनुभयो ।
उहाँ पछिल्लो पटक खानेपानी क्षेत्रमा समस्या समाधान गर्ने र उपभोक्ताहरूलाई छिटो, प्रभावकारी र झन्झटरहित रूपमा खानेपानी सेवा उपलब्ध गराउने प्रणालीको विकास गर्ने सोचका साथ कोषाध्यक्ष पदमा प्रतिष्पर्धामा रहनुभएको छ ।
उहाँले पानी सेवामा आम्दानी र खर्चलाई स्पष्ट रूपमा सार्वजनिक गर्ने, खानेपानी व्यवस्थापनलाई प्रविधिसँग जोड्दै डिजिटल प्रणाली लागू गर्ने प्रयास उद्देश्य राख्नुभएको छ ।
उहाँले पुनः कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुको सबैभन्दा ठूलो कारण बबई लिफ्टिङ खानेपानी आयोजनालाई पूर्ण रूपमा सफलतामा पुर्याउन भएको बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बबई नदीबाट पानी लिफ्टिङ गरेर वितरण गर्ने योजना ल्याइएको छ ।
‘मैले विगतमा खानेपानी व्यवस्थापनमा पारदर्शिता, उपभोक्तामैत्री सेवा र प्रविधिको प्रभावकारी प्रयोग गर्दै आएको छु ।’ उहाँले भन्नुभयो–‘हाल निर्माणाधिन बबई लिफ्टिङ आयोजना सफल बनाएर तुलसीपुर क्षेत्रलाई पूर्ण रूपमा खानेपानी समस्या मुक्त बनाउने मेरो लक्ष्य हो ।’
यो आयोजना पूरा भएमा तुलसीपुरका हजारौँ बासिन्दाले नियमित रूपमा सफा, स्वच्छ र सहज रूपमा पानी पाउनेछन् ।
थापाको नेतृत्वमाथि उपभोक्ताको विश्वास
भोला थापाको नेतृत्व क्षमताले उपभोक्ताहरूको विश्वास जित्न सफल भएको छ । विगतमा उहाँले खानेपानी वितरण व्यवस्थामा पारदर्शिता कायम गर्दै उल्लेखनीय सुधार ल्याउनुभएको छ ।
अब उहाँको उम्मेदवारीले पुनः जनसमर्थन पाउने उहाँ निकट स्रोतले बताउँछ । यसअघि पनि स्वतन्त्ररुपमा उमेदवारी दिनुभएका उहाँले लोकप्रिय मतका साथ कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँलाई उपभोक्ताले सरल नेतृत्वको रुपमा लिने गरेका छन् ।