२०८२ बैशाख ३० गते मङ्गलवार

शिक्षकको शान्तिपूर्ण आन्दोलन र राज्यको लज्जास्पद चुप्पी

शिक्षक समाजको बौद्धिक मानव हो । ज्ञानरूपी प्रकाश दिएर अन्धकारलाई हटाउने व्यक्ति नै शिक्षक हो । शिक्षक मानवको निर्माता हो । बच्चालाई खुसी राख्ने व्यक्ति पनि शिक्षक नै हो ।

यी र यस्तै प्रकारका शिक्षक शब्दका परिभाषा धेरै छन् । एउटा बच्चालाई कस्तो प्रकारको मानव बनाउने भन्ने मुख्य जिम्मेवारी र दायित्व शिक्षकको नै होला ।

देशमा कस्तो प्रकारको शिक्षा नीति, योजना, विधि बनाउने मुख्य जिम्मेवारी सरकार वा राज्य पक्षको नै हुन्छ तर विडम्वना राज्यले बनाएको शैक्षिक नीतिलाई कार्यान्वयन गर्ने मुख्य पक्षले नै शिक्षा ऐन वा नीति बनाऊ भनेर सडमा आन्दोलन गर्ने भन्ने विषय सरकार वा राज्यको लागि हास्यास्पद र लज्जास्पद विषय हो ।

देशमा पछिल्लो संविधान भनेको एक दशक हुँदा पनि आफूलाई निकै लोकतान्त्रिक, समाजवादी, मार्क्सवादी भन्ने दल र नेताहरूले देश विकासको मुख्य आधार मानिने शिक्षा क्षेत्रलाई बेवास्ता गरेकाले नै आजको आन्दोलनको परिणाम हो ।

आज जसले जे जति पढ्न, लेख्न, बोल्न, जीवन र जगतलाई सहजै बुझ्न जानेको छ त्यो बनाउने मुख्य आधार उसको जीवन बोधको मूल जग भनेको गुरु वा शिक्षक नै हो । आज जो व्यक्ति जुन तह र पदमा बसेर काम गरिरहेको छ र आफूलाई बुज्रुग ठानिरहेको छ त्यो व्यक्तिलाई त्यहाँसम्म पुर्‍याने पहिलो व्यक्ति नै शिक्षक हो ।

आफूलाई पढाएको, असल बाटोमा हिड्न प्रेरणा दिएको गुरुलाई एकपटक हजुरले सम्झिनुहोस् । साँच्चिकै तपाईँको जीवनशैली बदलियो होला तर गुरुको जीवनशैली उस्तै छ । तपाईँको जीवनमा दुःखको मौसम बदलिएर खुसी छाएको होला तर गुरुको जीवनमा अझै दुःखको मौसम चलिरहेको छ । नपत्याए हेर्नुहोस आन्दोलनमा सेताम्मे कपाल फुलेका श्रद्धेय गुरुहरु पनि कराइरहनुभएको छ ।

तपाईँ आज शासकको कुर्सीमा हुनुहुन्छ । तपाईँले आफ्नो कुर्सी बचाउन र अरुको कुर्सी ढलाउनमा जनताले दिएको समय खर्चिरहनुभएको छ ।

शिक्षकहरूले १५ दिनसम्म पनि सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहँदा तपाईँलाई कुनै महसुस भएको छैन । किनकी तपाईँलाई आन्दोलनको अर्थ ढुङ्गा, मुढा, गोली, हिंसा, हत्या हो भन्ने पाठ पढाइएको छ र त्यही सिकाइएको छ ।

शिक्षकको शैक्षिक आन्दोलनलाई दबाउनको लागि विभिन्न वहानामा निर्देशन र परिपत्र गरिएको छ । विद्यार्थीको भर्ना, पढाइ र भविष्यको चिन्ता तपाईँहरूलाई भन्दा बढी हामीलाई छ । विद्यार्थी र आम अभिभावकहरूले तपाईँलाई होइन हामी शिक्षकलाई बढी चिन्दछन् र विश्वास पनि मान्छन् ।

हामी आम विद्यार्थीहरूको भविष्यको बारेमा चिन्तित छौँ । हाम्रो आन्दोलनको बारेमा महिनौँ अगाडि तपाईँहरूलाई जानकारी दिँदा र यति धेरैदिनसम्म पनि शान्तिपूर्ण आन्दोलन चलिरहँदा अझै उदासिन हुनुहन्छ ।

जति चाँडै हाम्रो आन्दोलनको बारेमा तपाईँहरू गम्भीर भएर समाधानतिर लाग्नुहुन्छ त्यति नै चाँडै हामी विद्यालय फर्कन्छौ । यदि हाम्रो आन्दोलाई बेवास्ता गरेर सरकार वा राज्यपक्ष अगाडि बढ्न खोज्नु भयो भने देशले ठुलो शैक्षिक क्षति बेहोर्नपर्ने हुनसक्छ ।

देशका आम शिक्षकहरुले काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गरिरहेको समयमा शिक्षक र सामुदायिक विद्यालयमा विरुद्ध जथाभावी सामाजिक सञ्जालमा लेख्ने महानुभावहरुले अघिपछि सामुदायिक विद्यालयमा के कति योगदान दिनुभएको छ ? हेक्का होला ।

अर्को कुरा सामुदायिक विद्यालयमा गुणस्तर ल्याउनुको सट्टा आफ्नो मान्छेलाई जागिर खुवाउन के के गर्नुभएको थियो ? त्यो पनि हेक्का होला । समाजका बोक्रे भलाद्मीहरू शिक्षकमा विरुद्धमा धेरै नलागेकै राम्रो होला । तपाईँको मूल्याङ्कन पनि भविष्यले पक्कै गर्छ होला ।

लेखक तुलसीपुर–१ भूडहर सुनपुरमा रहेको बीरेन्द्र माविका प्रधानाध्यापक हुनुहुन्छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस