२०८३ असोज २६ गते सोमवार

तुलसीपुरमा पर्सिदेखि पोलियो विरूद्दको खोप अभियान संचालन हुने

तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिकामा ११ हजार बढी बालबालिकालाई पोलियो विरूद्दको खोप दिइने भएको छ । उपमहानगरका १९ वटै वडाका ११ हजार ५०८ जना बालबालिकालाई पोलियो विरुद्धको खोप दिन लागिएको हो ।

नगरमा पर्सि जेठ १३ गते आइतबारदेखि पोलियो विरूद्दको आपिभि खोप दिने स्वास्थ शाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अभियान १८ गतेसम्म संचालन हुनेछ । विषेशगरी २०७३ जेठदेखि २०७५ भाद्रसम्ममा खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । अभियानको क्रममा छुट भएमा ५ वर्षभित्र ४/४ महिनामा खोप लगाउन सकिने छ ।

तुलसीपुरका १५२ खोप केन्द्रबाट पोलियो विरुद्धको खोप दिन लागिएको हो । तुलसीपुरका सबै विद्यालय र इट्टा उद्योगमा समेत पुगेर खोप लगाउने लक्ष्य राखिएको छ ।

तुलसीपुर उपमहानगरपालिकास्तरिय खोप समन्वय समितिले शुक्रबार (आज) सरोकारवालासंग गरेको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख न्यौपानेले पोलियो रोगले मृत्युु समेत हुन सक्ने भएकाले खोप अनिवार्य लगाउन सुझाउनुभएको छ । सकेसम्म शत प्रतिशतले खोप लगाउनुपर्ने र करिब ९७ प्रतिशत भन्दा बढी बालबालिकाले लगाएपनि लक्ष्यको नजिक पुग्न सकिने उहाँको भनाई छ ।

एलर्जी भएका, ज्वरो आएको अवस्था , सिकिस्त बिरामी भएका, रगत नजम्ने समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र नियमित ओषधि उपचारमा रहेकोले आईपिभि लगाउन नहुने उहाँको भनाइ छ ।

सन् १९५५ मा विकास भएको आईपिभि खोप बालबालिकालाई पोलियोबाट बचाउन सुरक्षित रहेको उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकास्तरिय खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख टिकाराम खड्काले खोप अभियानमा लक्षित बालबालिका कोहि पनि छुट्न नहुने बताउनुभयो । नगरका जनस्वास्थ्य निरिक्षक बिमल केसीले बालबालिकालाई तोकिएको केन्द्र गएर खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस