२०८३ भाद्र २६ गते शुक्रवार

कपुरकोटका वित्तीय संस्थाहरूद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग


​सल्यान ।

भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सल्यानको कपुरकोटस्थित ‘बैंक, वित्तीय तथा सहकारी मिलन केन्द्र’ले आर्थिक सहयोग गरेको छ।

​विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मिलन केन्द्रले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. ५,५५५ (पाँच हजार पाँच सय पचपन्न) प्रदान गरेको हो। उक्त रकम कुमारी बैंक लिमिटेडको अनलाइन प्रणालीमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको केन्द्रले जनाएको छ।

​भोटेकोशीमा आएको बाढीका कारण धेरै नागरिकले जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै मिलन केन्द्रले प्रभावित परिवारलाई तत्काल राहत र पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सानो सहयोग गरिएको बताएको छ। “विपद्मा परेका नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा सामाजिक दायित्व हो,” मिलन केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस सहयोगले पीडित परिवारको पुनर्स्थापनामा केही हदसम्म सहयोग पुग्ने विश्वास लिएका छौँ।”

​कपुरकोट क्षेत्रमा सञ्चालित बैंक, वित्तीय संस्था तथा सहकारीहरूबीच आपसी समन्वय, सहकार्य र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यो मिलन केन्द्र गठन गरिएको हो। वित्तीय कारोबारसँगै समुदायको हित र प्राकृतिक विपद्को समयमा सामाजिक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाउँदै केन्द्रले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस