दाङ, १४ कात्तिक । तुलसीपुर नगर जेसीजको आयोजनामा शुक्रबार तुलसीपुरमा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति माविका अर्चना सुवेदी प्रथम हुनुभएको छ।
‘आजको युवा, भोलिको नेतृत्व’ विषयमा आयोजित प्रतियोगितामा माध्यमिक विद्यालय दोघरेकी सन्ध्या नेपाली द्वितीय र मेरिगोल्ड इङ्लिस स्कुलकी बिपिका केसी तृतीय हुनुभएको छ।
तुलसीपुरका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुवेदीले नगद दुई हजार पाँच सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। यस्तै, द्वितीय हुने नेपालीले एक हजार पाँच सय र तृतीय हुने केसीले एक हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका-६ का वडाध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथ भण्डारीले आजका युवाहरू नै भोलिको देशको नेतृत्वकर्ता भएकाले उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले वक्तृत्वकला जस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशील सोचको विकास गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।
यस्तै विशिष्ट अतिथि ज्ञानज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मनोज केसीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न र भविष्यमा सक्षम नेतृत्वकर्ता बन्न प्रेरित गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल , माेहाेन सुनार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगिताको प्रमुख निर्णायकमा तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्ष झरेन्द्र खरेल र निर्णायकमा तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख माधव पौडेल रहनुभएको थियो।
युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने सीपको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।कार्यक्रमकाे सहजिकरण महासचिव झग्गुप्रसाद सापकोटा गर्नुभएको थियाे ।


