२०८३ कार्तिक ३ गते सोमवार

राष्ट्रिय सेवा दलको तालिममा मिडवेष्ट प्वाइन्ट एकेडेमी उत्कृष्ट


दाङ ।
बाँकेमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) को जुनियर डिभिजन तालिमअन्तर्गत वार्षिक सामूहिक क्याम्पको दीक्षान्त कवाजमा दाङको शान्तिनगरस्थित मिडवेष्ट प्वाइन्ट एकेडेमी उत्कृष्ट घोषित भएको छ ।

वार्षिक सामूहिक क्याम्पमा मिडवेष्ट प्वाइन्ट एकेडेमीका सिनियर अन्डर अफिसर क्याडेट मनिष वली सर्वोत्कृष्ट छात्रा घोषित हुनुभएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १८ विद्यालयबाट २६७ छात्र र २६८ छात्रा गरी कुल ५३५ जना क्याडेट तालिममा सहभागी भएका थिए ।

तालिममा सामान्य सैनिक ज्ञान, ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो र एरोबिक्सलगायतका विषय समावेश थिए । वार्षिक सामूहिक क्याम्पका क्रममा विषयगत कक्षा सञ्चालन, हाइकिङ, खेलकुद तथा विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै घ गुल्म नम्बर १ सेमुले वेष्ट प्लाटुनको उपाधि हासिल गरेको छ ।

राष्ट्रिय सेवा दलले युवामा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रियता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले यस्ता तालिम सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय, कौशिलानगर बाँकेमा सञ्चालित ५२औँ एनसीसी जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्पअन्तर्गत दीक्षान्त कवाज आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेमबहादुर पुनले क्याडेट छात्रछात्राले प्रदर्शन गरेको जोशिलो र फुर्तिलो कवाजबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले १०० दिनको लामो तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा क्याडेटहरूलाई बधाई दिँदै युवाशक्ति नैतिकवान्, इमानदार, कर्तव्यनिष्ठ र देशभक्त हुनुपर्नेमा जोड दिनुभयो ।

दीक्षान्त कार्यक्रममा क्याडेट छात्रछात्राले दीक्षान्त कवाज, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । प्रमुख अतिथि पुनले उत्कृष्ट क्याडेटहरूलाई दर्ज्यानी चिह्न, पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस