२०८३ साउन ३ गते आइतवार

तुलसीपुरमा नवउद्यम प्रवद्र्धन कार्यशाला : बजारको माग अनुसार उत्पादन गर्नुपर्नेमा जोड

दाङ, ६ जेठ । दाङको तुलसीपुरमा नवउद्यम प्रवद्र्धन सम्बन्धी एकदिने कार्यशाला गरिएको छ । व्यवसाय सुरु गर्न इच्छुक तथा सक्रिय उद्यमीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा वक्ताहरूले परम्परागत शैली त्यागेर बजारको माग अनुसार नवप्रवर्तनमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर र ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले नयाँ बजारको खोजी गर्ने अभ्यासको अभावमा अधिकांश व्यवसाय गुजारामुखी मात्र भएको टिप्पणी गर्नुभयो ।

उहाँले भौगोलिक बनावट अनुसारको उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन नवीन योजना आवश्यक रहेकोमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले ठोस योजना र निरन्तर प्रयासको कमीले धेरैका सपना व्यवहारमा उत्रिन नसकेको बताउनुभयो ।

महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष केसीले स्थानीय स्रोत, सीप र सम्भावनालाई आधुनिक सोचसँग जोडेर युवाहरूलाई स्वरोजगार बनाउन महासंघले स्थानीय सरकारसँग निरन्तर समन्वय गर्ने बताउनुभयो ।

उपमहानगरपालिका भित्रका ५० भन्दा बढी उद्यमीहरूको सहभागिता रहेको कार्यशालामा उद्यम विकास सहजकर्ता सुरेश कुमार रावतले ‘उद्यमशीलता र उद्यमी सोचमा नवप्रवर्तन’ तथा आइटी अफिसर सविन केसीले ‘नवप्रवद्र्धन र प्रविधिको प्रयोग’ विषयमा प्रशिक्षण दिनुभएको छ ।

महासंघका उपाध्यक्ष टिकाजङ ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर ओलीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस