२०८३ मङ्सिर ४ गते शुक्रवार

तुलसीपुरमा हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रयासमा जोड


दाङ, ४ मंसिर ।
हिंसामुक्त समाज निर्माणका लागि सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वतयारीका लागि बिहीबार तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले तुलसीपुरमा पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसाका घटना बढ्दै गएको बताउनुभयो ।

सामाजिक सञ्जालमा फेक आइडी बनाएर दुःख दिने, चिठ्ठा परेको भन्दै रकम माग्ने तथा विभिन्न माध्यमबाट ठगी गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो । उहाँले बालविवाह र आत्महत्याका घटना पनि चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो ।

नगर उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त रिजालले समाजका विभिन्न वर्ग र समुदायमा हिंसाका घटना विद्यमान रहेको बताउनुभयो । हिंसामुक्त समाज निर्माणका लागि सबैभन्दा पहिले तनावमुक्त समाज निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

त्यस्तै, बालअधिकारकर्मी नवराज लामिछानेले हिंसामा संलग्न व्यक्तिलाई सामाजिक रूपमा निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले हिंसा नियन्त्रणका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको कानुन शाखाका वरिष्ठ प्रशासकीय अधिकृत लक्ष्मी रानाले कानुनी सचेतनाको अभावमा हिंसाका धेरै घटना बाहिर आउन नसकेको बताउनुभयो । उहाँले नागरिकलाई कानुनी अधिकार र प्रक्रियाबारे जानकारी गराउन टोलटोलमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य यमुना परियार, न्यायिक समिति सदस्य लालमती भण्डारी, उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर केसी, अपाङ्ग सेवा संघका देवा डाँगी, शान्ति महिला नमुना संसद्का सभामुख सीमा न्यौपाने, पत्रकार दीप्तिशिखा चौधरी, ओरेककी दाङ जिल्ला संयोजक कल्पना चौधरी, फेडो दाङका जिल्ला सचिव गंगा विश्वकर्मा र राप्ती प्रादेशिक अस्पतालकी स्टाफ नर्स अर्चना खड्कालगायतले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस