दाङ, २६ वैशाख । मुलुकमा नयाँ सरकारको गठनसँगै थलिएको अर्थतन्त्रले गति लिने र निजी क्षेत्रमा नयाँ उत्साह पलाएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको ३१ औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले तुलसीपुरलाई प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने पर्याप्त आधार रहेको उल्लेख गर्नुभएको छ । उहाँले तुलसीपुरको आर्थिक सम्भावनालाई अवसरमा बदल्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्योगीहरूका लागि स्थानीय सरकार अभिभावक बन्न तयार रहेको बताउनुभयो । यद्यपि, उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान अहिलेका झन्झटिला ऐन कानुन बाधक रहेको उहाँको टिप्पणी थियो ।
नगरप्रमुख खड्काले तीनै तहका सरकारले ‘उद्योगमैत्री नीति’ नबनाएसम्म आत्मनिर्भर अर्थतन्त्र सम्भव नभएकोमा जोड दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले राज्यलाई बुझाउनुपर्ने कर समयमै बुझाउनु व्यवसायीको धर्म भएको बताउँदै करको दायरा विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले व्यवसायीहरू सधैँ आन्दोलन र अस्थिरताको मारमा पर्ने गरेको गुनासो गर्नुभयो । ‘हामी कर तिर्न तयार छौँ, तर राज्यले व्यवसाय गर्ने सुरक्षित वातावरण दिनुपर्छ’ उहाँले भन्नुभयो ।
संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले पछिल्लो आर्थिक संकटका बेला व्यवसायीहरूले नाफाभन्दा पनि सेवामुखी भएर बजार चलाइरहेको यथार्थ प्रस्तुत गर्नुभयो । यदि अहिले नै राज्यले निजी क्षेत्रलाई संरक्षण नगर्ने हो भने अर्थतन्त्र थप संकटमा पर्ने निश्चित रहेको केसीले बताउनुभयो ।
कार्यक्रममा महासचिव केशवराज केसीले संघको वार्षिक प्रगति र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा यस क्षेत्रका प्रतिष्ठित व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।





