
तुलसीपुर, २१ पुस । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै वडामा एमाले दुई ध्रुवमा बाँडिएको छ । वडा अधिवेशनमा अध्यक्ष मण्डलले घोषणा गरेका पदाधिकारी मध्येका उपाध्यक्षको निष्काशन र सचिव पद साटेर पदभार ग्रहण गराएपछि सो कुरा बाहिरिएको हो ।
तुलसीपुरका १९ वटा वडामध्ये १८ वडामा एमालेले अधिवेशन सकेर पदाधिकारीले पदभार ग्रहण गरिसकेको नगर अध्यक्ष रुपबहादुर खत्री बताउनुहुन्छ । बाँकी रहेको वडा नम्बर ६ ले पनि एक महिनादेखि विवादकै बीच पदाधिकारीले पूर्णता पाउन नसकेका बेला आइतबार नयाँ पदाधिकारीले सपथ लिएका हुन् ।
नयाँ पदाधिकारीले शपथ ग्रहण गरे पनि आधिकारिकता नभएको एमाले स्रोत बताएको छ । गत मंसिर २० गते ६ नम्बर वडाले एमाले पार्टी कार्यालय तुलसीपुरमा अधिवेशन गरेको थियो । अधिवेशनपछि नयाँ पदाधिकारी सर्वसम्मत चयनका लागि जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज युवा करारको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको थियो ।
सोही अध्यक्ष मण्डलले यज्ञबहादुर बस्नेतको अध्यक्षतामा २८ सदस्यीय समितिलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको थियो ।
समितिको उपाध्यक्षमा छविलाल भण्डारी, सचिवमा विष्णुबहादुर सुवेदी, उपसचिवमा वेदबहादुर वुढाथोकी र प्रमिला तिवारीसहितका पदाधिकारीलाई अनुमोदन गर्ने अध्यक्ष मण्डलको निर्णय थियो ।
त्यसको ठिक विपरीत आइतबार सार्वजनिक भएको सपथग्रहण कार्यक्रममा उपाध्यक्ष छविलाल भण्डारीको ठाउँमा विष्णुबहादुर सुवेदी र सचिव विष्णुबहादुर सुवेदीको ठाउँमा यमराज केसीलाई फेरबदल गरेर तुलसीपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा सपथ ग्रहण कार्यक्रम आयोजना गरेपछि एमाले वडा नम्बर ६ मा विवाद झनै चुलिएको हो ।
आइतबार उपाध्यक्ष बनाइएका विष्णुबहादुर सुवेदी वडा कमिटीका निवर्तमान सचिव हुनुहुन्थ्यो र अहिले पनि उनै सुवेदीलाई सचिव पदका लागि अध्यक्ष मण्डलले सर्वसम्मत चयन गरेको थियो ।
तर, आज उहाँ एकाएक उपाध्यक्ष भएको जानकारी पाएपछि सो कार्यक्रममा सहभागी हुनुभएन । आइतबारको निर्णयअनुसार सचिवको जिम्मेवारी यमराज केसीले पाउनुभएको छ ।
उहाँ अहिले वडा नम्बर ६ का जनप्रतिनिधि सदस्य हुनुहुन्छ । यसअघि उपाध्यक्ष बनाइएका छविलाल भण्डारी आइतबारको सूचीमा नै पर्नुभएन ।
यसअघिको अध्यक्ष मण्डलको निर्णय निर्वाचन मण्डलले सार्वजनिक गर्नुपर्ने थियो तर हुन सकेन ।
त्यतिबेला निर्वाचन मण्डलको संयोजकको जिम्मेवारीमा सुरेश रावत हुनुहुन्थ्यो । सोही कार्यक्रममा प्रदेश सचिवालय सदस्य रामजी चौधरी, नगर अध्यक्ष रुपबहादुर खत्री, सचिव जितबहादुर खड्कालगायत नेताहरू आमन्त्रित अतिथिका रूपमा सहभागी भएर सो माइन्युटमा हस्ताक्षरसमेत गरेको खुलेका छ ।
तर, अधिवेशनको ठिक एक महिनापछि अध्यक्ष मण्डलको निर्णयलाई कार्यान्वयन गर्नुको साटो उपाध्यक्ष र सचिव पदलाई साटफेर गरेर उनै नेताहरूको उपस्थितिमा सपथ ग्रहण गराइएको विषय विधिसम्मत नभएको वडा इन्चार्ज तथा अध्यक्ष मण्डलका संयोजक युवा करारले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको विधानको धारा ४५ (क) मा पनि अधिवेशन सञ्चालन र आवश्यक संरचनाहरू गठन गर्ने पूर्ण अधिकार अध्यक्ष मण्डलकै रहने व्यवस्था गरिएको छ तर सो विधानको विपरित नेतृत्वको हस्तक्षेप स्वीकार्य नहुने संयोजक करारले बताउनुभयो।
मंसिर २० गतेको अधिवेशनमा भएको अध्यक्ष मण्डलको निर्णय नै आधिकारिकता रहेकोमा कोही पनि भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । ‘वडा अधिवेशनमा भएको सर्वसम्मतिको निर्णय निर्वाचन मण्डलले सार्वजनिक किन गर्न सकेन?’ कराराले भन्नुभयो– ‘यो निर्वाचन मण्डलको समस्या हो, हाम्रो समस्या होइन, त्यतिबेला हामीले गरेको निर्णय नै आधिकारिक हो ।’
निर्वाचन मण्डलका संयोजक रहेका सुरेश रावतले भने तत्काल सहमति जुट्न नसकेपछि जिल्ला पार्टीले सो समस्या हल गर्ने गरी जानकारी गराएर आफू जिल्ला बाहिर रहेको र अहिले आफू कुनै जिम्मेवारीमा नरहेको बताउनुभयो ।
निर्णय पुस्तिकामा आफैंले हस्ताक्षर गरेर हिँडेका जिम्मेवार पदाधिकारीहरू एक महिना पनि निर्णयमा अडिग रहन नसक्नु नगर नेतृत्वको असक्षमता पुष्टि भएको एमाले वडाका नेताहरू बताउँछन् । पार्टीभन्दा व्यक्ति हावी भएकाले झन् झन् समस्या बढेको उनीहरुको भनाई छ ।
मंसिर २० गतेको अध्यक्ष मण्डलको घोषणा अनुसार उपाध्यक्ष बनेका छविलाल भण्डारी आइतबार सपथ ग्रहणमा जानुपर्ने भए पनि उपाध्यक्षमा विष्णु सुवेदीको नाम आएपछि उनै भण्डारीले सामाजिक सञ्जालमा आफूलाई विदेश पठाएको भन्दै व्यंग्य गर्नुभएको छ ।
२८ सदस्यीय कार्यसमितिमा आइतबारको पदभार ग्रहणमा आधाजसो पदाधिकारीहरू उपस्थित नै भएनन् ।
नेकपा एमाले तुलसीपुरका नगर अध्यक्ष रुपबहादुर खत्रीले भने सहमति नजुटेपछि जिल्ला पार्टीको निर्देशनअनुसार निर्णय भएको बताउनुभयो । ‘अध्यक्षमा सुरुमा यज्ञबहादुर बस्नेत र विष्णुबहादुर सुवेदी अध्यक्षको उम्मेदवार रहनुभएको थियो तर पछि यज्ञ जीलाई अध्यक्ष मानेर जाने सबैको सहमति भएको थियो ।’ उहाँले भन्नुभयो–‘उपाध्यक्षमा पनि तीन जना आकांक्षा रहेका थिए र त्यतिबेला उपाध्यक्ष छविलाल भण्डारी नै भएको स्वीकार गर्नुभयो ।’
तर, अर्को ड्राफ्टमा अध्यक्षमा यज्ञबहादुर बस्नेत, उपाध्यक्षमा विष्णुबहादुर सुवेदी, सचिवमा यमनारायण रेग्मीको सूची समेत तयार भएको बताउनुभयो । एक महिनाको बीचमा पनि अध्यक्ष मण्डलले सहमति जुटाउन नसकेपछि जिल्लाकै निर्देशनमा क्षेत्रीय संयोजक मेघराज भुषालसहितका नेताहरूसँग परामर्श गरेर निकासको बाटो खोजिएको अध्यक्ष खत्रीले बताउनुभयो ।
अध्यक्ष मण्डलले निर्णय गरेको माइन्युटमा तपाईंसहितका पदाधिकारीको पनि हस्ताक्षर छ नि भन्ने प्रश्नमा अध्यक्ष खत्रीले आफूले निर्णयमा नभई उपस्थित पुस्तिकामा हस्ताक्षर गरेको बताउनुभयो ।
एमालेको विधान अनुसार वडा तहमा अध्यक्ष मण्डलले गरेको निर्णय विपरीत नगर तथा जिल्ला तहले गरेको निर्णय विरुद्ध अदालतमै गए पनि आफूहरूको जित हुने एमाले वडा तहका नेताहरू बताउँछन् ।