
दाङ, १२ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले १३२ औं माओ दिवस तथा राष्ट्रिय एकता महाधिवेशन घोषणा सन्देश सभा गरेको छ ।
पार्टीका दाङ जिल्ला सचिव इश्वरी प्रसाद गैरेका् अध्यक्षता तथा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक स्याम बहादुर बोहराको प्रमुख आतिथ्यामा सभा भएको हो । त्यस अवसरमा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक स्याम बहादुर बोहराले माओको विश्व कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानबारे चर्चा गर्दै चिनको समृद्धि माओको दर्शनको परिणाम भएको बताउनुभयो ।
उहाँले सामन्तवादी चिनलाई जनयुद्धमार्फत जनवादी जनगणतन्त्रमा परिवर्तन गर्न माओले देखाएको मार्ग आज विश्वका अन्य साम्यवादी मुलुकका लागि प्रेरणा बनेको उल्लेख गर्नुभयो ।
यस्तै केन्द्रीय सदस्य नारायण योगीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले पार्टीभित्रका मतभेद अन्त्य गरी देशीविदेशी दलाललाई चुनौती दिएको बताउनुभयो । पार्टीको एकताले जनतामा उत्साह थपेको र क्रान्तिकारी परिवर्तनका लागि जनताको विश्वास बलियो बनाएको उहाँको भनाइ छ ।
कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य तथा घोराही नगर समिति इञ्चार्ज नवीन खडकाले माओको योगदानबारे चर्चा गर्दै महाधिवेशनपछिका योजनाहरुले दाङ जिल्लाका समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो । जिल्ला सदस्य तिलक विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह सचिव दिपक बिष्टले गर्नुभएको हो ।
यसैबिच पार्टीको योजनाअनुसार, लमही नगरपालिका–३ का मुक्त सुकुम्बासी र मजदुरको टोलीले दाङका प्रमुख जिल्ला अधिकारीलाई भेट्दै सुकुम्बासी समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

पार्टीले सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राख्दै यसको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ ।