दाङ, ८ पुस । तुलसीपुरमा बाँस, कृषि, बन उद्यम सम्मेलन गरिएको छ । सम्मेलनमा बाँसबाट विभिन्न सामग्रि उत्पादन गरी स्वरोजगार बन्न सकिनेमा सरोकारवालाले जोड दिएका छन् ।
ग्रिन फाउण्डेशन नेपालले आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बाँसबाट विभिन्न सामग्रि उत्पादन गरेर आर्थिक विकास गर्न सकिनेमा जोड दिएका छन् । बाँसबाट विभिन्न सामग्रि बनाउनका लागि गरिएको तालिम समापनको अवसरमा बाँस गाउँ विस्तार र उत्पादनको विषयमा विशेष चर्चा गरिएको छ ।
सम्मेलनमा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बाँस गाउँ विस्तार अभियान संचालन गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । उहाँले बाँस रोप्ने र बाँसबाट विभिन्न सामग्रि बनाउने अभियानलाई विकास र विस्तार गर्न सकिने बताउनुभयो ।

सम्मेलनमा आर्थिक संकट, रोजगारीको अभाव र जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूलाई उल्लेख गर्दै बाँस र बाँसबाट उत्पादित सामग्रीमार्फत समाधान खोज्नुपर्नेमा उहाँको जोड छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले स्थानीय उत्पादन र बजारीकरण गरेरमात्रै आर्थिक विकास संभव हुने बताउनुभयो । उहाँले संस्कृति र प्रकृतिको संरक्षण हुने गरी स्थानीय कच्चा पदार्थबाट बनेका सामग्रि प्रयोगका लागि स्थानीय सरकारले आवश्यक नीति बनाउने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थानीय उत्पादनको प्रवर्द्धन र दीगो व्यवसायको लागि सोच्नुपर्ने बताउनुभयो । उहाँले बाँससंग सम्बन्धित उत्पादनहरूलाई बजारसंग जोड्न सकिने बताउनुभयो ।
डिभिजन बन कार्यालय दाङका प्रमुख इश्वरी पौडेलले दाङमा बाँसको उत्पादन र बाँसबाट सामग्रि उत्पादन गर्नुपर्ने बताउनुभयो । जलाधार तथा भू-संरक्षण कार्यालयका वरिष्ठ भू-संरक्षण अधिकृत राकेश शाहीले एक वन, एक उद्यम कार्यक्रम अन्तर्गत ३८५ सामुदायिक वनहरूलाई पाँच लाखको बजेट उपलब्ध गराइने जानकारी दिनुभयो ।
फाउण्डेशन दाङका उपाध्यक्ष आशा जिसिको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सम्मेलनमा तुलसीपुरका स्थानीय उद्यमीहरूले बाँसबाट तयार हुने उत्पादनहरू—फोटो फ्रेम, कलमदानी, भित्ते फूलदानी, चुरा स्ट्यान्ड, डोका, गैजा, मुडा, छिट्नी लगायतका प्रदर्शनी गरिएको हो ।
त्यस अवसरमा कालीका पकरे कृषि वन उद्यम समूहका उपाध्यक्ष कुलबहादुर केसीले २०५५ सालदेखि बाँस उत्पादक तथा व्यापारीको रूपमा आफ्नो अनुभव सुनाउँदै बजारमा यसको माग बढ्दै गएको बताउनुभयो ।
सम्मेलनले दाङ लगायत देशभर बाँस उद्योगको विकास र स्थानीय उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सहभागीले बताएका छन् । कार्यक्रमको सहजीकरण हरियाली मञ्च नेपाल दाङका अध्यक्ष सुरेश रावतले गर्नुभएको हो ।


