दाङ, ३ पुस । दाङको तुलसीपुरमा श्रीमानले दाउरा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका–२ भमके निवासी २९ वर्षका चित्र बहादुर बुढाथोकीले ३२ बर्षीया श्रीमती हस्ति कुमारी बुढाथोकीलाई दाउरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चित्रले आज बुधबार बिहान १० बजेको समयमा घरमा कोही नभएको अवस्थामा श्रीमतीको हत्या गरी फरार भएका थिए । फरार बुढाथोकीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवा ११ बजेको समयमा तुलसीपुर–७ कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक थापाका अनुसार चित्र बहादुरले श्रीमतीको हत्या गरेर फरार भएको भनेर साढे १० बजेको समयमा प्रहरीलाई खबर आएको थियो । त्यस लगत्तै खोजतलास गर्दै जाने क्रममा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।


