२०८३ असोज ८ गते बिहिवार

तुलसीपुरका राजु गिरी जनसम्पर्क समिति अस्ट्रेलियाको NSW सभापतिमा निर्वाचित

तुलसीपुर, ८ असाेज। दाङको तुलसीपुर निवासी डियाल गिरी ‘राजु’ नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको न्यु साउथ वेल्स (NSW) राज्य समितिको नव–निर्वाचित सभापति बनेका छन्।

सिड्नीको रकडेलमा सम्पन्न समितिको पाँचौँ अधिवेशनबाट गिरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचित गिरीलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

राजु गिरी नेपाल नेत्रज्योति संघ, दाङका सभापति तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीका छोरा हुन्। कृष्णकुमार गिरी नेपाल नेत्रज्योति संघ दाङको नेतृत्वसँगै आँखा स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

राजु गिरीको नेतृत्वमा NSW राज्य समितिले नेपाली समुदायबीचको एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ। आगामी कार्यकालमा संस्थालाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै रचनात्मक तथा समुदायमुखी गतिविधिलाई प्राथमिकता दिने विश्वास व्यक्त गरिएको छ।

तुलसीपुरमा सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय परिवारको पृष्ठभूमिबाट आएका गिरीको अस्ट्रेलियास्थित नेपाली समुदायको संस्थाको नेतृत्वमा भएको चयनलाई तुलसीपुरवासीले समेत चासोका साथ हेरेका छन्।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस