
सल्यान, २९ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । घरमै सुत्केरी हुने अवस्थाको अन्त्य गर्नका लागि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो ।
गर्भवतीलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा संचालित प्रसूतिगृहमा आउजाउमा सहज बनाउन र घरमै सुत्केरी हुने परम्पराको अन्त्य गर्न पालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको हो ।
आर्थिक अवस्था कमजोर भएका कारण एम्बुलेन्सको सेवा पाउन नसक्दा घरमै असुरक्षित सुत्केरी हुन बाध्य हुँदै आएका महिलालाई सहज होस् र प्रसूतिगृहमा सुत्केरी हुन सकुन् भनेर गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले बताउनुभयो ।
उहाँका अनुसार गर्भवती महिला तथा सुत्केरी भइसकेका महिलाले पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा संचालित ६ वटै प्रसूतिगृहमा सुत्केरी गराउन जाँदा एम्बुलेन्सको कुनै शूल्क तिर्नु पर्दैन ।
पालिकाबाहिर दाङ तथा नेपालगन्ज जानु परेमा भने न्यूनतम शुल्क तिर्नुपर्ने उहाँले बताउनुभयो । गर्भवतीलाई लैजाँदा निजी संस्थाका एम्बुलेन्सले तुलसीपुरसम्मको ५ देखि ६ हजार र नेपालगन्जसम्मको १० हजार लिने गर्छन् ।
तर पालिकाले तुलसीपुरसम्मका लागि २ हजार ५ सय र नेपालगन्जका लागि ५ हजारमात्र शुल्क तोकेको उहाँले बताउनुभयो । उहाँले न्यून आर्थिक अवस्था भएकालाई निःशुल्क सेवाको दिने गरेको पनि बताउनुभयो ।
कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुबास हमालले घरमा हुने असुरक्षित सुत्केरीको संख्या घटाउनमात्र नभई मातृ र नवजात शिशु मृत्यु शून्यमा झार्न पालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको बताउनुभयो ।
पालिकाले प्रत्येक वडामा प्रसूति गृह संचालनका साथै एम्बुलेन्स सेवा निःशुल्क संचालन गरेपछि गर्भवती महिलालाई धेरै सहज भएको सिनबाङकी निर्मला रोकाले बताउनुभयो ।