२०८१ मङ्सिर २३ गते आइतवार

प्राकृतिक स्रोत साधनको सदुपयोग हुने गरी लगानी गरौँ : पाण्डे

दाङ, २१ असार । स्थानीय स्रोत साधनको उपयोग हुनेगरी लगानी गर्नुपर्नेमा सरोकारवालाले चासो दिएका छन् । ग्रिन फाउण्डेशन नेपालले शुक्रबार तुलसीपुरमा आयोजना गरेको हरित उद्यमशिलता लगानी संवाद कार्यक्रममा सरोकारवालाले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी आर्थिक विकास गर्न लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले प्राकृतिक स्रोत साधनको सदुपयोग गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । उहाँले धार्मिक एवं पर्यटकियस्थल छिल्लिकोटमा केबुलकारमा लगानी गरी तुलसीपुरको आर्थिक विकासमा सहयोग पु¥याउन सकिने बताउनुभयो ।

उहाँले छिल्लीकोटको केबलकारमा लगानी गर्न बाहिरका व्यवसायीले चासो दिएको तर तुलसीपुरकै स्थानीयले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल १८ देखि ५८ वर्षसम्मका मानव जनशक्ति भएको देश रहेको भन्दै अहिले यहि उमेर समुहका जनशक्तिलाई परिचालन गर्ने गरी उद्यममा लगानी गर्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले राज्यले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीले लगानी गर्न तयार रहेको बताउँदै अस्थिर राजनीतिका कारण व्यापार व्यवसायमा असर परेको बताउनुभयो ।

त्यस अवसरमा राप्ती लाईफ केयर अस्पतालका अध्यक्ष हरि रिजालले कुनै पनि व्यक्तिले १० लाख भन्दा रकम बैंकमा राख्न नपाउने नीति लागू गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले लगानी गर्ने वातावरण नबनाएको बताउँदै राष्ट्र बैंकले ठेकेदारी गरेको बताउनुभयो ।

यस्तै तुलसी सहकारी संस्थाका अध्यक्ष भास्करराज गौतमले सामुहिक लगानी गर्ने वातावरण नबनेको बताउनुभयो । उहाँले संभावना भएको तर पूँजी नहुँदा समस्या भएको बताउनुभयो ।

व्यवसायी सपना भण्डारी बस्नेतले व्यवसाय गरेको लामो समय हुँदा पनि आफ्नै उत्पादन बजारमा पठाउन नसकिएको बताउनुभयो । उहाँले आफ्नै नामको ब्राण्ड बजारमा पठाउने योजना रहेको बताउनुभयो ।

शिक्षा विज्ञ युवराज रावतले मानवीय स्रोत साधनको अभाव हुन थालेको बताउनुभयो । राज्य संचालक गम्भीर नबन्दा अहिलेको स्थित आएको उहाँको भनाइ छ । कार्यक्रमको सहजीकरण हरियाली मञ्चका अध्यक्ष सुरेश रावतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस