दाङ, २८ असार । महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुष्मा लामिछाने गिरीसहित चार जना दिदीबहिनीले संयुक्त रूपमा महिला उद्यमशीलताको उदाहरणीय पहल गरेका छन् ।
उनीहरूले तुलसीपुर उपमहानगरपालिका–६, स्टार बोर्डिङ चोकमा दिदीबहिनी कलेक्सन सञ्चालनमा ल्याएका छन् । सुष्मा लामिछाने गिरी, सुष्मा आचार्य, सुनिता लामिछाने र पुष्पा कार्कीको रु १० लाखको संयुक्त लगानीबाट सञ्चालित यो कलेक्सनले लेडिज आधुनिक डिजाइनका पहिरनहरू उपलब्ध गराउँदैछ ।

कलेक्सनको मुख्य उद्देश्य महिलाहरूलाई व्यवसायमा सहभागी गराई आत्मनिर्भर बन्न सघाउनु हो । ‘महिलाको नाममा धेरै व्यवसाय दर्ता भएका उदाहरण देखिएपनि प्रत्यक्षरूपमा महिलाले नै नेतृत्व गरेर व्यवसाय सञ्चालन गर्ने संस्कृति अझै विकसित हुन सकेको छैन ।’ सञ्चालक सुष्मा लामिछाने गिरीले भन्नुभयो–‘हामीले दिदीबहिनीको सहकार्यमा व्यवसाय अगाडि बढाउने र आर्थिक रूपमा आत्मनिर्भर बन्ने सपना बोकेका छौं ।’
दिदीबहिनी कलेक्सनले स्थानीय बजारका साथै अनलाइनमार्फत पनि आफ्ना उत्पादन पुर्याउने योजना बनाएको छ । सुलभ मूल्यमा गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै महिलाहरूलाई रोजगारी र आय आर्जनको अवसर प्रदान गर्नु कलेक्सनको अर्को महत्त्वपूर्ण लक्ष्य रहेको छ ।




