२०८१ माघ २ गते बुधवार

लागूऔषध दुरुपयोग विरुद्ध दिवस : लागूऔषध मुद्धामा १६ देखि २५ वर्षका बढी


दाङ, १२ असार । लागूऔषध दुर्व्यसनमा १६ देखि २५ वर्ष उमेर समुहका सबैभन्दा बढी लाग्ने गरेको देखिएको छ । अभिभावकको निगरानी नहुन, साथीभाई लहलहै, नकारात्मक असरप्रतिको अज्ञानता लगायतका कारण १६ देखि २५ वर्षसम्मका सबैभन्दा बढी लागूऔषध दुर्व्यसनमा फस्ने गरेको देखिएको हो ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार घोराहीमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक सुशिल थापा मगरले तीन वर्षको अवधिमा लागूऔषध दुर्व्यसनको मुद्धामा १६ देखि २५ वर्षसम्मका १ सय ९८ जना पक्राउ परेको बताउनुभयो । यो तथ्यांक आर्थिक वर्ष २०७८/२०७९ देखि चालु आर्थिक वर्ष २०८०/२०८१ हालसम्मको हो ।

उहाँका अनुसार सबैभन्दा बढी बितेको आर्थिक वर्ष २०७९/२०८० मा ७४ जना लागूऔषध दुर्व्यसनमा पक्राउ परेका छन् । यस्तै दोस्रोमा २६ देखि ३५ वर्षसम्मका व्यक्ति लागूऔषध दुर्व्यसनमा लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार तीन आर्थिक वर्षको अवधिमा २६ देखि ३५ वर्षसम्मका १०२ जना लागूऔषध मुद्धामा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा ४३ जना, आर्थिक वर्ष २०७९/२०८० मा ३४ जना र चालु आर्थिक वर्ष २०८०/२०८१ मा २५ जना लागूऔषध मुद्धामा पक्राउ परेका छन् ।

यस्तै ३६ देखि ४५ वर्ष उमेर समुहका तीन वर्षमा २१ जना पक्राउ परेका छन् । यसैगरी ४६ देखि ६० वर्ष उमेर समुहका ९ जना र ६० वर्षदेखि माथिका १ जना लागूऔषध मुद्धामा पक्राउ परेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

भारतसंगको खुल्ला सिमाना र छिमेकी जिल्लामा गाँजा तथा अफिम खेती हुनु, बालबालिकालाई लागूऔषधको नकारात्मकता असरप्रतिको ज्ञान नहुनु, पक्राउ परेका प्रतिवादीबाट समेत अनुसन्धानमा असहयोग हुनु, लापसे (लागूपदार्थ सेवन) जाँच्ने मेसिनको अभाव हुनु, समाजमा सचेतनाको अभाव लगायतका कारणले लागूऔषध कारोबार र दुव्र्यसनी बढ्दै गएको उहाँले बताउनुभयो ।

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले लागूऔषध दुर्व्यसन न्यूनिकरणका लागि सचेतना फैलाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले लागूपदार्थ दुर्व्यसन विरुद्धका कार्यक्रमलाई प्राथमिकतामा दिनुपर्ने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले लागूपदार्थ दुर्व्यसन तथा ओसारपसार रोक्नका लागि राज्यका निकाय निरन्तर लागिरहेको बताउनुभयो । उहाँले लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउनका लागि एकल प्रयासले भन्दा पनि सामुहिक प्रयासले सफल हुने बताउनुभयो ।

कार्यक्रममा पद्मोदय पब्लिक नमुना माविका प्रधानाध्यापक लोक बहादुर बस्नेतले लागूऔषध विरुद्धको अभियानमा अभिभावक र बालबालिका सचेत हुन सके धेरै मात्रामा कमी आउने बताउनुभयो । कार्यक्रममा स्वच्छ नेपाल दाङका अध्यक्ष बिन्दु गिरी आचार्यले बालबालिकालाई लागूऔषध दुर्व्यसनबाट बचाउनका लागि घर परिवार बढी सचेत हुनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, पद्मोदय नमुना मावि, नयाँ पाईला पुन स्थापना केन्द्र बिजौरीसहित विभिन्न संघ संस्थाको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले कार्यक्रमको आयोजना गरेको छ । असार ६ गतेदेखि शुरु भएको साताव्यापी कार्यक्रमको बुधबार समापन गरिएको हो । समापन कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस