दाङ, ४ असार । घोराही बजारलाई व्यवस्थित गर्ने क्रममा पार्किङ व्यवस्थापन थालिएको छ ।
पहिलो चरणमा राप्ती स्वास्थ्य प्रतिष्ठानको अगाडी सडकमा हुदै आएको पार्किङलाई अनेत्रै पार्किङको व्यवस्थापन गरेर सडक खालि गरिएको छ ।
उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा, नगर प्रहरी, प्रतिष्ठान, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र टोल विकास संस्थाहरुको समन्वय तथा सहकार्यमा पार्किङ व्यवस्थापन गरिएको हो ।
प्रतिष्ठानको अगाडी पिपलबोट चोक देखि अस्पताल रोडको पाण्डेय मेडिकल सम्मको सडकमा अब पार्किङ निषेश भएको छ । अस्पतालमा सेवा लिन आउनेहरुले अब सवारीका साधन प्रतिष्ठानको दक्षिण खालि क्षेत्रमा निशूल्क पार्किङ गर्ने व्यवस्था मिलाईएको छ ।
नगर प्रहरी, ट्राफिक प्रहरी, वडा प्रहरी, प्रतिष्ठानका सुरक्षाकर्मी समेतको उपस्थितीमा आज देखि सडक खाली गरिएको छ । सडक साँघुरो र त्यसैमा सडक छेउमा सवारीका साधनहरु राख्दा दुर्घटनाको जोखिम बढ्ने र बजारमा समेत कुरुपता आए पछि उपमहानगरपालिकाले पार्किङ व्यवस्थापनमा लागेको हो ।
घोराही बजारमा पार्किङको समस्या बढ्दै गएपछि घोराही उपमहानगरपालिकाले त्यसको व्यवस्थापनका लागि जग्गा र स्थानको खोजी थालेको छ । मेनरोड, अस्पाल रोड, न्यूरोड र उमेशमार्ग रोडमा पार्किङका लागि खालि स्थानको खोजी थालेको हो ।
जस्का लागि बजार क्षेत्रमा वडाहरु १४ र १५ का अध्यक्षहरुको संयोजकत्वमा पार्किङ व्यवस्थानमा टोली गठन भएको छ । टोलीमा उपभोक्ता हित संरक्षण शाखा, नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उद्योग बाणिज्य संघ र सम्बन्धीत टोल विकास संस्थाका प्रतिनिधीहरु हुने छ ।
उक्त टोली ति सडक क्षेत्रमा रहेका अण्डरग्राउ भवन, खाली जमिन र भवनका प्राङगणहरुको पहिचान गरेर समन्धीत जग्गा धनी सँग समन्वय गर्ने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।