२०८१ मङ्सिर २३ गते आइतवार

अत्यधिक गर्मी बढेपछि दाङका तीन पालिकामा गर्मी बिदा

दाङ, ३० जेठ ।
अत्यधिक गर्मी बढेपछि दाङका तिनवटा पालिकाले दुई दिन विद्यालय बन्द गरेका छन् । गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि तुलसीपुर, घोराही, शान्तिनगरले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जेठ ३१ र ३२ गते विदा दिने निर्णय भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो । यस्तै घोराही उपमहानगरपालिकाले पनि सूचना प्रकाशित गर्दै वर्षे बिदाबाट कट्टी हुने गरी यहि जेठको ३१ र ३२ गतेका दिन विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार साउन महिनाको १७ र १८ गतेको बिदा कट्टी हुने अहिले विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभएको छ ।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी पर्न थालेको सूचना आउन थालेपछि विद्यालयमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत केसीले जानकारी दिनुभएको छ ।

यस्तै शान्तीनगर गाँउपालिकाले पनि दुई दिन गर्मी विदा दिएको छ । आज एक सूचना जारी गदै भोली र पर्शी विद्यालयमा गर्मी विदा दिएको जनाएको छ । साथै मौसममा सुधार आई गर्मीको महसुस कम भएमा निरन्तर कक्षा सञ्चालनकोे व्यवस्था विद्यालयले मिलाउनुपर्ने सूचनामा भनिएको छ ।

दाङमा बढेको अत्यधिक गर्मीका कारण आज तुलसीपुर उपमहानगरपालिका ११ स्थित अमर मावि उरहरीमा ६ जना विद्यार्थी बिरामी बेहोस भएका थिए । पानि नपरेपछि दाङलगाएत देशभर गर्मी बढेको छ । दाङको आजको अधिकतम् तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस