२०८३ असोज २२ गते बिहिवार

सल्यानमा कुटपिटबाट एक जनाको मृत्यु

सल्यान, ११ जेठ । सल्यानमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट शारदा नगरपालिका-२ स्यालाका ४६ वर्षीय घनश्याम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घनश्यामलाई शारदा नगरपालिका-४ घर भई हाल शारदा नगरपालिका-६ बरलामा बस्दै आइरहेका ३१ वर्षीय हस्त बहादुर विष्ट भन्ने डनराज विष्टले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने डनराज भतिज हुन् भने निधन हुने घनश्याम काका नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता भवानी प्रसाद धमलाले बताउनुभयो ।

हस्त बहादुरले जेठ ४ गते शारदा नगरपालिका-६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो । उहाँको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्सबाट घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको प्रवक्ता धमलाले जानकारी दिनुभयो ।

कुटपिट गर्ने भतिजालाई ५ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस