दाङ, ४ जेठ । दाङका दुई पालिकालाई क्षयरोग मुक्त बनाउन अभियान शुरू भएको छ । तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकालाई क्षयरोग रोगमुक्त बनाउन अभियानको शुभारम्भ भएको हो ।
तुलसीपुरमा अभियानको शुभारम्भ तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले गर्नुभएको हो । सन् २०३५ सम्म एकलाख जनसंख्या बराबर १० प्रतिशत क्षयरोगी झार्ने लक्ष्य सरकारको रणनिती अनुसार तुलसीपुरमा पनि यो अभियान सुरु भएको हो ।
क्षयरोग अन्त्यका लागि राजनीतिक दलबाट प्रतिवद्दता प्राप्त हुनु, देशव्यापी संचरना शसक्त हुनु, सहयोगी दातृ निकायबाट आर्थिक तथा प्राविधिक सहयोग हुनुले क्षयरोग नियन्त्रण गर्न सकिने स्वास्थ शाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका सुचना अधिकारी तथा क्षयरोग फोकल पर्सन गजेन्द्र यादवले १५-४९ वर्ष सम्मका नागरिकलाई देखिने गरेको बताउनुभयो । उहाका अनुसार तुलसीपुरमा ४३८ क्षयरोगी मध्ये २६५ जना क्षयरोगीहरु सम्पर्कमा छन् भने १७३ जना क्षयरोगी सम्पर्क भन्दा बाहिर रहेका छन् । यस्तै जिल्लामा १ हजार ६ सय क्षयरोगी छन् । जिल्लामा दश पालिकामध्ये सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा क्षयरोगी छन् ।
सरकारले क्षयरोगीहरुलाई निशुल्क रुपमा उपचार गर्दै आएको छ । त्यसका साथै विपन्न परिवारका क्षयरोगीहरुलाई पोषण खानाका लागि मासिक पाँचसय रुपैयाँ दिंदै आएको छ भने जिल्ला बाहिर औषधि गर्नेपर्ने र आर्थिक अवस्था कमजोर भएका क्षयरोगीहरुलाई निशुल्क यातायातको व्यवस्था गरेको छ । क्षयरोगको प्रकार हेरेर एक जना विरामीले २ देखि १० महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने डाक्टरको भनाई छ ।