२०८१ जेष्ठ ९ गते बुधवार

१५ दिनअघि सुत्केरी भएकी आमाको हत्यापछि छोराछोरीको विचल्ली


सल्यान, १ जेठ । सल्यानमा १५ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । रानादम्पतीका १५ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।

आइतबार मात्रै बनगाड कुपिण्डे नगरपालिका– ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान् पनि झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरूको पनि डेढ वर्षको छोरीसहित तीन छोराछोरी रहेका छन् । अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस