२०८१ असोज १८ गते शुक्रवार

कक्षा ८ को नतिजा कमजोर आएपछि शैक्षिक सुधारमा दंगिशरणको एक्सन


दंगिशरण, २ बैशाख ।
कक्षा ८ को नतिजा कमजोर देखिएपछि दाङको दंगिशरण गाउँपालिकाले शैक्षिक सुधारका लागि आवश्यक रणनीति अपनाउन थालेको छ । गाउँपालिकामा शिक्षाको गुणस्तर जाँचका लागि गत शैक्षिक सत्र २०८० मा कक्षा ८ को परिक्षा विद्यार्थीले पढीरहेको विद्यालयभन्दा अन्यन्त्र विद्यालयबाट दिने व्यवस्था गरेपछि पालिकामा वास्तविक शैक्षिक स्थित बाहिर आएको छ ।

कक्षा ८ को परिक्षामा सहभागी ३ सय ५२ परिक्षार्थीमध्ये १८ जनामात्रै उत्तीणर् भएपछि पालिकाले शैक्षिक सुधारका लागि एक्सन लिएको हो । कक्षा ८ को वार्षिक परिक्षाको नतिजा कमजोर आएपछि शिक्षामा गुणस्तर ल्याउन शुक्रबार सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई बोलाएर शैक्षिक सुधारका लागि आवश्यक निर्देशन दिएको गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताउनुभयो ।

विद्यार्थी विद्यालयमा कम्तिमा पनि ७५ प्रतिशत अनिवार्य उपस्थित हुनुपर्ने, कक्षा कोठामा फोन लैजान नपाउने, पाठ्यक्रममा निर्धारित समय अनुसार दैनिक विद्यार्थीले कम्तिमा पनि ५ घण्टा पढ्नुपर्ने, वार्षिक परिक्षामा ननग्रेड विद्यार्थीलाई गे्रड वृद्धि परिक्षामा सहभागी गराउने लगायतका निणर्य गरिएको उहाँले बताउनुभयो ।

यसैगरी उच्चमावि संचालन भएका विद्यालयमा शिक्षकको संख्या धेरै रहेकोले त्यस विद्यालयमा कक्षा १ देखि ८ र ९ देखि १२ को स्टाप कक्ष र पठनपाठन कक्ष छुटै बनाउने, परिक्षालाई भयरहित परिक्षा गर्ने निणर्य गरेको अधिकारीले बताउनुभयो ।
यसैबिच भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक महेद्र केसीले नपढेपनि पास भइहालिन्छ भन्ने मानसिकताको विकास हुँदा शिक्षकले पनि काम चलाउ पढाउने प्रवृति मौलाउँदा शिक्षाको गुणस्तर खस्किन थालेको बताउनुभयो ।

भानु माविबाट कक्षा ८ को परिक्षामा ३६ जना विद्यार्थी सहभागी भएका थिए । तर १ जना पास भएको भएको उहाँले बताउनुभयो । दंगिशरण गाउँपालिकाका सामाजिक विकास शाखा संयोजक रोशनजंग शाहले कक्षा ८ को वार्षिक परिक्षाबाट दंगिशरणमा शैक्षिक गुणस्तरको वास्तविकता बाहिर आएको बताउनुभयो ।

उहाँले अब यसकै आधारमा शैक्षिक सुधारका लागि आवश्यक नीति बनाउने बताउनुभयो । दंगिशरणमा कक्षा ८ को परिक्षामा सामुदायिकका २८२ र संस्थागत ७० जना सहभागी भएका हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस