२०८१ माघ ८ गते मङ्गलवार

पँधेरोमा नुहाउन गएकी युवतीको घाँटी रेटेर हत्या

पाल्पा, १४ चैत । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो ।

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् ।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

घाँटी र हातका औलाहरू काटिएको र घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

पाल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागी भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस