२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा यसवर्ष १२ हजार बढीले एसइई दिने


दाङ, ९ चैत । दाङमा यसवर्ष १२ हजार बढीले माध्यमिक शिक्षा परिक्षा अर्थात एसइई दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार दाङबाट यसवर्ष एसइईमा दाङबाट १२ हजार आठ सय ९८ विद्यार्थी सहभागी हुने भएका हुन् ।

जिल्लामा यसपटक पनि विगत वर्ष जस्तै परीक्षा दिनेमा छात्रभन्दा छात्राको संख्या धेरै छ । यो पटकको एसईईमा छ हजार आठ सय २२ जना छात्रा छन् भने छ हजार ७६ जना छात्र रहेका छन् ।

परीक्षाका लागि साधारण धारतर्फ छ हजार चार सय ६५ छात्रा रहेका छन् भने पाँच हजार सात सय ६३ जना छात्र गरी १२ हजार दुई सय २८ जना रहेका छन् । प्राविधिक धारतर्फ एक सय ६२ छात्रा र एक सय ६१ जना छात्रा गरी तीन सय २३ जनाले परिक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ पनि एक सय ९५ जना छात्रा र एक सय ५२ जना छात्र गरी तीन सय ४७ जना विद्यार्थीले परिक्षा दिन लागेका समन्वय एकाई प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, जिल्लाका १० वटै पालिकाबाट कुल दुई सय ४४ विद्यालयबाट यो वर्ष एसईईमा परीक्षार्थीले आवेदन दिएका छन् । परिक्षा चैत्र १५ गतेदेखी शुरु भएर २७ गते सकिने छ । यसपटक गत वर्षभन्दा पाँच सय. ५४ जना थोरै विद्याथीं जिल्लावाट एसईईमा सहभागी हुँदैछन् । जिल्लामा गतवर्ष १३ हजार चार सय ५२ जनाले परीक्षा दिएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस